आफ्नो मोबाइलको स्क्रिन हेर्दै मुसुमुसु हाँसी नलिनी ।

पिरियड खाली भएकोले विश्वविद्यालयको बगैंचामा यत्रतत्र छरिएर आनन्दानुभूति गरिरहेका थिए विद्यार्थीहरू ।

“हैन मोबाइलमा त्यस्तो के छ, जसले एक्लैएक्लै मुस्कुराउने बनायो ?” जिस्काउने शैलीमा भनी टिनाले ।

“हेर्न, उसले पठाएको म्यासेज कस्तो रोमान्टिक छ ।” नलिनी टिनाको नजिकै पुगेर म्यासेज देखाई ।

“खै खै, कस्तो रहेछ तेरो मान्छे ? फोटो हेरूँ न ।” म्यासेज हेरेपछि नलिनीको केटोसाथी हेर्ने उत्सुकता देखाई टिनाले ।

नलिनीले पनि उसको फेसबुक प्रोफाइल खोलेर फोटाहरू देखाई ।

“आम्माम्मा ! यो पो हो तेरो हुनेवाला ?” फोटो हेरेर आश्चर्य प्रकट गरी टिनाले ।

“किन ? के भो ? त्यस्तो आश्चर्य मान्नु पर्ने के छ र ? राम्रो लागेन तँलाई ?” नलिनीले एकै सासमा प्रश्नहरूको वर्षा गरी ।

“यो फटाहाले फेरि तँलाई पो फसाएछ ! सावधान हो है नानी । यो त मेरो भूपू हो । महाको धूर्त छ । चिप्लो घस्न भने निकै सिपालु । धन्न म बेलैमा उम्किएँ । नत्र त अलपत्रै पार्ने रहेछ नि मोरोले ।” टिनाले आफ्नो भोगाइ यथार्थ बताई ।

“के गलफती गरेर बसिराछौ ? जानेबेला भएन ?” सानो छोरीलाई डोर्‍याउँदै पुस्तकालयतिरबाट आउँदै गरेकी उमाले भनिन् ।

“हेर्नु न दिदी, मेरो भूपूले यसलाई जालमा पार्न आँटेछ । त्यसैले सम्झाउँदै छु यसलाई ।” टिना फ्याट्टै बोली ।

“खै म पनि हेरूँ, तिमीहरूको नक्कले कस्तो रहेछ ?” जिस्कन खोजिन् उमा पनि ।

टिनाले नलिनीको हातबाट मोबाइल तानेर फोटो देखाई उमालाई ।

उमाको अनुहारमा एक्कासि बादल लाग्यो ।

साँझ घर पुगेपछि आफ्नो मोबाइलमा टिना र नलिनीको फोटो देखाउँदै पतिलाई सोधिन्, “यिनीहरू को हुन् ,चिन्छौ ?”