प्रविधिको बढ्दो प्रयोगका कारण साना बाबुनानीहरूको सिर्जनशीलता मर्दै गएको सबैले अनुभूत गरेका थिए। विद्यालयका प्राचार्यले यस विषयमा चिन्ता जाहेर गर्दै छलफलका लागि स्टाफ मिटिङ बोलाए ।

सरिता मिसले आफ्नो पालो आएपछि उठेर भनिन् -” यी केटाकेटीहरू पढाइलाई बोझका रुपमा लिन्छन् । कक्षाकार्य र गृहकार्य यिनीहरूलाई सजाय जस्तो लाग्छ।”

विमला मिसले पनि शिक्षणका आधुनिक विधि र प्रविधिको पर्याप्त प्रयोगका बाबजुद पनि विद्यार्थीहरूमा शिक्षणीय विषयवस्तुप्रति रुचि उमार्न नसकिएको बताइन् । उनले अभिभावकले पनि घरायसी वातावरणलाई पढाइमैत्री बनाउन नसकेकोमा असन्तुष्टि व्यक्त गरिन् ।

बैठकमा पालैपालो सबैले गुनासोका पोका फुकाए । तर समाधानको सूत्र पहिल्याउन मुश्किल परिरहेको थियो । यसैबीच

विष्णुप्रसाद आचार्य अतृप्त

अलि पाका र पुराना भरत सरतिर सबैको आँखा सोझियो। उनले केही सूत्र निकाली पो हाल्छन् कि भन्नेमा सबै आशावादी देखिए ।

प्राचार्यको अनुमति लिँदै भरत सरले विनित स्वरमा भने-” तपाईंहरू बच्चालाई सजाय दिनु हुन्न भन्नुहुन्छ । सम्झाएर सम्झिने उमेर नभएका यी केटाकेटीहरूलाई देखाउने भनेको डर नै हो । त्यसैले त म भन्छु, बच्चालाई सजाय नै दिनुपर्छ । भलै यसको स्वरूप भौतिक रुपमा आक्रमण गर्ने खालको नहोस् ।”

सबैले उनको कुरामा ध्यान दिए । उनी बोल्दै गए-” सरिता मिसको कुरामा टेकेर अब म एउटा सजायको प्रस्ताव गर्छु। अटेरी गर्ने र आचरणमा नबस्ने बालबालिकालाई अरू बालबालिकाको तुलनामा गृहकार्य बढी दिने गरौँ । ताकि खेल्न र परिवारसँग रमाउन नपाइने डरले बाबुनानीहरू विद्यालयमा शान्त र सौम्य रहून् र त्यो आदत घरमा पनि कायम रहन सकोस् ।”

सजायको यो सिर्जनशील स्वरुप सबैलाई चित्त बुझ्यो । निर्णय कार्यान्वयन हुन थालेको एक हप्ताभित्र विद्यार्थीहरूको आचरण र व्यवहारमा आमूल परिवर्तन भएको प्रस्ट देखिन्थ्यो।