मेरो अगाडि सिङ्गै एउटा मानिस उभिएको छ । दुई हत्केला जोडेर नमस्ते शैलीमा छ ऊ । उसको शरीरबाट अमिलो दुर्गन्ध आइरहेछ । अनुहारमा कतै दाग र झुस्स बढ्नै नसकेका दाह्री छन् ।

ऊ बर्षौंदेखि लगाएको प्वालैप्वालको मैलो ज्याकेट र पाइन्टमा छ । गोडा उसका खेतको गरामा फाँटेका धाँजा जस्तै फाटिएका छन् । सायद बर्षौं भयो होला उसका गोडाहरूले जुत्ता र चप्पल बिर्सिएका । उसको परेलाहरू लामा छन्, लामै छन् उसका हातहरू ।

ऊ निरन्तर हात जोडिरहेछ । केही बरबराई रहेछ ।

मैले सोधें, “के खाने ?”

गोजीबाट कुच्चिएको पचासको नोट निकाल्छ र भन्छ, “दशको चाउमिन !” होटेलवाला चिच्याउँदै आइपुग्छन् र छैन छैन जा जा भन्छन् ।

होटेलवाला मलाई हेरेर ङिच्च हाँस्छ र उसलाई हेरेर रिसले मुरमुरिन्छ । उसका ओठहरू काँपिरहेका छन् ।

जाऊँ या बसूँ ऊ दोधारमा छ । साहुको डरभन्दा पनि भोकले जित्यो । ऊ गएन ।

म उसलाई र होटेल साहुलाई हेरर टोलाइरहेछु । सम्झन्छु केही क्षणअगाडि मात्र होटेलको ढोकैमा एउटा कुकुर आएको थियो । उसले त्यही शब्दले भन्यो । उस्तै गरी जा जा…।

होटेलभित्र एक कुनामा दुई चिनियाँहरू  छन् । उनीहरू आफ्नै भाषामा गफिंदै  टेबलमा भएका बियरका बोतलहरू रित्ताउँदै छन् । छेउकै टेबलमा छ एउटा ख्याउटे   दुब्लो दोभासे – ऊ कानमा हेडफोन लगाउँदै कफीको चुस्की लिनमा व्यस्त छ । चिनियाँहरूका टेबलमा एक पछि अर्को परिकारहरू थपिरहेका छन् ।

ऊ भने परेलाहरू नझिम्काई हेरिरहेछ  ।

होटेल साहुले भरखर गरमागरम पकौडा र चिया टेबलमै राखिदिन्छन् मैले साधेँ, “खाने हो ?”

उसले फेरि त्यो पचास रुपियाँको नोट मलाई दिदैं भन्यो, “दश रुपियाँका मात्र !”

उसलाई मैले केही दिएँ । ऊ खाइरहेछ । मानौं ऊ हप्तौंदेखि भोको छ ….

म उसलाई हेर्दै अनेकन् सोचिरहेछु

कहाँ होला घर ? के होला नाम अनि परिवार ! जसको परिवार र नाम रहँदैन उसको समाज अनि राष्ट्र कसरी रहन्छ र, ऊ अपरिचित छ, गुमनाम छ तर आँखै अगाडि छ ऊ ! समाजअगाडि नै छ ऊ ।

चिनियाँहरू रक्सीको मातले रातो हुँदै लडखडाउँदै उठे, टेबल अझै खाने कुराहरूले भरिभराउ छ । मानौं उनीहरूले खाएनन् चाखे मात्र । मन्द मुस्कान सहित होटेल साहुले बिदाइ गरे !

ऊ चाहिँ निहुरिएर भुइँमा आफूले खाँदा झरेको पकौडा टिप्छ र आफ्नो खल्तीमा राख्छ ।

ऊ फेरि हात जोड्छ र निस्कन्छ । होटेल छेउमै आइपुग्छ त्यही कुकुर ! आफूले खल्तीमा राखेको त्यही पकौडा ऊ झिकेर दिन्छ ।

अनि दुवै निस्कन्छन् – अन्त्यहीन यात्रामा, फेरि अर्को भोकको यात्रामा ।