
“जाने हो तिलकजी ?”, पाँच बजेपछि कार्यालयबाट निस्कन लागेका हाकिमसाबले सोधे।
‘आखिर डेरामा गएर पनि के गर्नु छ र ? उही मोबाइलको घोप्टे ड्युटी त हो। हाकिमको गाडीमा एसीको शीतल हावा खाँदै घुम्न मज्जै होला !’ मनमनै सोच्यो र भन्यो⸴ “हुन्छ⸴ जान्छु हजुर।”
उनीहरूको कार्यालय भएको ठाउँमा खासै ठुलो बजार थिएन।दैनिक उपभोग्य सामान पाउने केही किराना र फेन्सि पसल थिए। चिया⸴ नास्ता खाने सम्मका केही ससाना होटेल⸴ रेस्टुरेन्ट थिए। अलि ठुलो किनमेल गर्नु परे सोह्र किलोमिटर टाढाको भगवानपुर बजार जाने गर्थे स्थानीयहरू पनि।
“एउटा सामान किन्नु थियो त्यसैले भगवानपुर जाऊँ भनेको नि। यहाँ भन्दा त भगवानपुरमा सस्तो पाउँछ⸴ हैन तिलकजी ।” हाकिमले उसको राय बुझ्न खोजे।
“हो हजुर सामान हेरी यहाँ भन्दा दश बिस रुप्पे मिलाएरै दिन्छन्।”⸴तिलकले जवाफ दियो।
केही क्षणमा भगवानपुर पुगे उनीहरू।
गाडीबाट झरेपछि बजार घुमघाम गरे।घुम्दै गर्दा एउटा फेन्सि पसलमा छिरे हाकिमसाब। तिलक पनि सँगै छिर्यो।
हाकिमले एउटा अन्डरवेयर खरिद गरे।तिलकको त केही किन्न थिएन।हाकिमलाई साथ दिन मात्र आएको थियो।
किनमेलपछि उनीहरू फर्कनको लागि गाडीमा बसे।
“ल हेर्नुस् तिलकजी⸴ यही अन्डरवेयर त्यहाँ हिजो मैले सोधेको थिएँ।त्यहाँ भन्दा यहाँ पन्ध्र रुप्पे सस्तो दियो।कुरा बुझ्नु भो त⸴ यहीँको त्यहीँ कति ठग्छन् ?” पन्ध्र रुपैयाँ सस्तो पाएकोमा हाकिमले दङ्ग पर्दै भने ।
‘एउटा कट्टु किन्दा पन्ध्र रुप्पे जोगाएका हाकिमले कति सरकारी तेलमा आगो झोसे⸴ थाहा छैन ?’ मनमा यही सोच्दै तिलकले बोलीमा लोली मिलाउँदै भन्यो⸴ “हो हजुर त्यहाँ भन्दा त भगवानपुरमै सस्तो पाउँछ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

