मोबाइलमा नचिनेको फ्रेन्ड रिक्वेस्ट आयो। एक्सेप्ट गरिनँ । बारम्बार उही मान्छेको रिक्वेस्ट आइरह्यो । धेरैपटक आएपछि सोच्न बाध्य भएँ । प्रोफाइल हेरेँ। अलिअलि म्युचुअल फ्रेन्ड रहेछन् । जे पर्ला उही टर्ला भन्दै एसेप्ट गरेँ।
मैले एसेप्ट गरेको निमेषभरमै उताबाट हात हल्लाएको तस्बिर आयो।
नमस्कार गर्यो । धन्यवाद भन्यो । उत्पातै खुसी भयो ऊ । मसँग साथी बन्न पाउँदा ।
त्यो दिनदेखि लगातार हेल्लो मेम, हाई मेम, सन्चै हुनुहुन्छ ? खाना खानुभो ? भन्दै बोल्न थाल्यो । म चाहिँ ट्यास्स हजुर ! मात्र लेख्थेँ कहिलेकाहीँ ।
मेरो गुलियो वचन पाउनासाथ ऊ फुर्केको खबर दिन कहिले हातको बुडी औंला ठड्याएर त कहिले दुई हात जोडेर अनि कहिले मुटुको रातो चित्र पठाउँथ्यो।
छक्क पर्थें म, केटामान्छेहरुको स्त्रीलम्पट बेहोरा देखेर।
यसरी, ऊ मसँग फेसबुकमा बोल्ने क्रम चलिरह्यो । सधैँ बोल्न खोजिरहन्थ्यो । मेरो प्रोफाइलमा गएर सारा स्टाटसमा लाइक र कमेण्ट गर्थ्यो।
फेसबुकै त हो भन्दै, उसले गरेका लाइक र कमेन्टमा मैले कुनै आपत्ति जनाइनँ ।
एकदिन मलाई म्यासेज पठायो, “मेमको घर कता ?” भन्दै । मैले मेरो ठेगाना दिएँ ।अनि परिवार, छोराछोरी , घर माइती सबै सोध्न भ्यायो । एउटा पत्रकारले लिएको अन्तर्वार्ता भन्दा कम थिएन उसको सोधाइ । मैले पनि आफ्नै हिसाबले उसका जिज्ञासाहरु मेटाउँदै गएँ । फोन नम्बर मागेको थियो । एउटा नम्बर पठाएँ ।
खासमा भन्ने हो भने, उसको बारेमा मलाई जान्नु पनि थिएन र सुन्नु पनि ।
उसलाई ,मेरो बारे सबै थाहा पाएँ भन्ने लागेछ कि कुन्नि ? मैले नसोधे पनि उसले स्वयं आफ्नो परिचय दिन थाल्यो । उसको कुराले, ऊ नेपाल सरकारको ठुलै ओहोदाको कर्मचारी भएको मैले बुझेँ ।
त्यो दिनको कुराकानी यतिमै टुङ्याएँ, म आफैँले ।
भोलिपल्ट फेरि मेरो फोनमा स्कुलको पालेदाइले पहिलो पिरियडमा बजाउने घण्टीझैँ ट्वाङ एक घन्टी बज्यो। हेरेँ । अरु कसको हुन्थ्यो र ? उसैको रहेछ । सुरुमा नमस्कारसँगै एउटा लघुकथाजत्रै म्यासेज आएको रहेछ । समग्रमा भन्दा मसँग चिया पिउने इच्छापत्र थियो त्यो । बेलुका मेरो परिवारको वा उसको परिवारले थाहा पाउने डरले हुन सक्छ, प्रायः दिनमा मात्र कुरा गर्न आउँथ्यो, ऊ मसँग।
त्यसैले उसको सँगै चिया पिउने आग्रह पनि स्वीकारेँ र मेरो कार्यालयमै बोलाएँ। मेरो अनुमती पाएर उसले रातो मुटुको चित्रसँगै धन्यवादको वर्षा गरायो मलाई।
भोलिपल्ट मैले दिएको समय भन्दा अगाडि नै ऊ मेरो कार्यालयमा खडा भयो । मैले उसलाई पहिलो पटक देखेँ । फेसबुकमा भन्दा अल्लि फिक्का लाग्यो । तर नराम्रो लागेन।
हामी दुबै क्यान्टिनको आमनेसामने बस्यौँ । ऊसँग पहिलोपटक भेटेको भए पनि, म निसङ्कोच थिएँ भने ,ऊ चाहिँ अल्ली हडबडाएको जस्तो देखिन्थ्यो। चिया खाजा अर्डर गर्दै गर्दा उसले कुराकानी सुरु गर्यो।
” हेर्नोस् मेम! पहिला पहिला अफिस हुँदा समय गएको पत्तो हुँदैनथ्यो । यो रिटायर्ड लाइफ त सारै पट्यार लाग्दो हुँदो रहेछ। दिन काट्नै मुस्किल । कतै जाऊँ भने पनि एक्लै कता जाने ? अफिसका साथीहरु को कता ? को कता पुगिसके।”
उसको कुराले मलाई ऊ रिटायर्ड सुड्डो रहेछ भन्ने लाग्यो। ऊ एकोहोरो बोल्दै गयो, म चाहिँ धार्नेको टाउको मात्र हल्लाउँदै गएँ। धेरैबेरको एकोहोरो टाउको हल्लाइपछि आफैँलाई असजिलो लाग्यो । केही त बोल्नै पर्यो भन्दै सोधेँ, “अनि मेडम र बाल बच्चा नि ?
“मेरो यो एउटा प्रश्नले ऊ अल्लि भावुक भयो र भन्दै गयो ,” मेडम भएको भए त कुरै सकिन्थ्यो नि । ऊ त कान्छो एक वर्षको हुँदा बितेकी हो । कान्छाको बाबू पनि, आमा पनि मै हो । साह्रै गाह्राे हुँदाेरहेछ मेम, बाआमा दुबैको भूमिका निर्वाह गर्न । ठूलो छोरो अमेरिकामै घरजम गरी बसेको छ । कान्छोलाई नेपालमै राखौँ भनेर हुर्काएँ बढाँए ,पढाएँ र सिभिल इन्जिनियर बनाएँ । कुल घरकी पढालेखा केटी हेरेर उसको बिहे पनि गराएँ ।”
उनको कुरा सकिनँ नपाउँदै बिचैमा म प्वाक्क बोलेँ, ” ए त्यसो भए ,ऐले त रमाइलो होला नि ?”
“रमाइलो नै छ भन्नुपर्यो मेम । उनीहरूको खुसी नै मेरो खुसी । बिहे गरेको दुई वर्ष त सँगै बस्याैँ। त्यसपछि ऊ पनि भासियो बुहारी लिएर अस्ट्रेलिया । छोरा बुहारीहरु, ‘बुवा ! हजुर नेपालमा एक्लै हुनुहुन्छ ,यतै आउनु भन्थे ।’ उनीहरुको आग्रहलाई स्विकार्नुको विकल्प नै थिएन । गएँ उतै। दुई महिना भन्दा बढी टिक्न सकिन त्यहाँ । जेलखाना जस्तो। छोरा बुहारी काममा जान्थे । चिन्नु न जान्नु कोसँग बोल्ने ? त्यो व्यस्त मुलुकमा । हामी जस्ताको काम छैन । अनि फर्कें आफ्नै घर। एक्लो बृहस्पतिको काम छैन मेम । पहिला छोराहरु हुँदा त बरु मन बुझाएको थिएँ । ऐले त उनको यादले घरभित्र छिर्नै मन लाग्दैन । भात, भान्छा ओछ्यान सबैतिर उनैलाई मात्र देख्छु । केही गर्दा पनि बिर्सन सकिनँ । एक्लै छु सम्झाउने र साहारा दिने कोही छैनन् मेम।”
यति कुरा भन्दै गर्दा उसका आँखाका डिल्ल टिल्पिल भइसकेका थिए । सरी! भन्दै ऊ वासरुमतिर छिर्यो। म पनि अर्काको आँखामा आँसु देख्न नस्क्ने मान्छे । छिटो छिटो दुबै आँखा पुछेँ र ओभाना बनाएँ।
ऊ वासरुमबाट निस्कियो । एकछिन हाम्रो टेबलमा शून्यता छायो। केही छिनको शून्यतालाई चिर्दै मैले टेबलको खाना खाने इशारा गरेँ । कति बेलादेखिको टेबलको चिया र नास्ता बिरालाको नाकजस्तो भइसकेको थियो । त्यही पनि अन्नको श्रापको डरले मन नलागी नलागी प्लेट रित्यायौँ । चिया मात्र खुवाउने आग्रह गरेको उसले खाजाको पनि पैसो तिर्यो ।
केही गल्ती गरेको थिएन तै पनि जानेबेला माफी माग्यो मसँग । मैले पनि बिदाइको हात हल्लाएँ र सरासर कार्यस्थलतिर लागेँ । आज मेरो मन हिजो अस्ति भन्दाअल्लि फरक भयो । कुरा धेरै खेले मनमा । बेलुका घरमा खानामा पनि त्यति मन गएन । बिस्तारामा पल्टेँ ।
धेरैबेर मेरा दुइ मार्ग निर्देशक तछाड मछाड गर्दै मडारिन थाले । एक मनले भन्छ, कतै उसले गरेका कुराहरु तेरै जस्ता झुटा त हैनन् ? होइन होइन भन्दै मस्तिष्क बोल्छ । विश्वास गर! उसका आँखाहरु त्यति झुटा देखिएका छैनन् । मन र मस्तिष्कको धेरै बेरको रस्साकस्सीपछि मेरो मनको जीत भयो ।
जितको हुङ्कार दिँदै मनले मलाई भन्न थाल्यो, “हे कठोर आईमाई ! कस्तो संयोग भएको छ तँलाई । पग्लिनु पर्छ तैँले अब । अस्ति उसलाई दिएको तेरो परिचयमा कति सत्यता छ ? सोचेकी छस् ? खै, तेरो परिवार ? बालबच्चा खै तेरा ? आखिर तँलाई पनि तेरा परिवारले एक्लै छोडेर गएको बिर्सिइस् ? तँ पनि बेसाहारा आईमाई होइनस् ? किन झुठ बोलिस् ऊसँग ? जीवन लामो छ । सुम्पी उसलाई तेरो बाँकी जीवन । यसमा तिमी दुबैको भलाइ छ ।”
मनका कुरा जित्न कसले सक्छ र ? हो, मैले पनि सकिनँ जित्न आफ्नै मनलाई । र आज पहिलोपटक उसलाई म्यासेज गर्दैछु ,”हेल्लो रमेश जी ! तपाईंलाई साहारा दिने सोच बनाएँ । एसेप्ट गर्नुहुन्छ कि नाइँ ?”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।