भित्तामा चित्र झुण्डिएको छ । यो चित्र भित्तामा झुण्डिएको पाँच दशक नाघिसक्यो ।
रम्भा बेडमा पल्टेकी छन् । रम्भाका आँखा चित्रतिर केन्द्रित छन्, चित्र धूमिल देखिन्छ ।
यो चित्र पहिले चमकदार थियो । तर आज धूमिल छ ।
रम्भा स्वभावैले प्रकृतिप्रेमी हुन् । रम्भाले प्रदर्शनीबाट त्यो चित्र किनेर ल्याएकी थिइन् । चित्र स्निग्ध थियो । चित्रमा पहाडको पृष्ठभूमि, माथितिर हिमाल, हिमालमाथि स्वच्छ नीलो आकाश, पहाडलाई दुई भाग पार्दै कलकल बगेको खोला, तलतिर अलिकति हरियो वन, छेउमा चर्दै गरेको एउटा हरिण र यो सबैलाई हेरिरहेकी एक सुन्दर युवतीको तस्वीर थियो । चित्रमा रहेकी युवतीको तस्वीर रम्भालाई आफैं झैं लागेको थियो । चित्रमा संसारको सबै कुरा अटाए झैं लाग्थ्यो । एउटै चित्रमा सम्पूर्णता देखेकै कारण चित्रकला प्रदर्शनीमा त्यो चित्र रम्भाको आँखामा परेको थियो । प्रकृतिको सुन्दर चित्रण भएकै कारण रम्भाले त्यो चित्र प्रदर्शनीबाट किनेर ल्याएकी थिइन् र भित्तामा झुण्ड्याएकी थिइन् । जिन्दगीदेखि निराश हुँदा रम्भा त्यही चित्र हेर्थिन् र बिस्तारै रोमाञ्चित हुन्थिन् । त्यही चित्रलाई घण्टौं हरेर रम्भाले आफ्नो जीवन व्यतीत गरेकी थिइन् ।
तर आज रम्भालाई अचम्म लागिरहेछ, आफ्नै मनमा प्रश्न उठिरहेछ– ‘चित्र किन धूमिल छ ? कसले धूमिल बनायो ? को आयो यो घरमा त्यति राम्रो चित्रलाई कुरूप बनाउन ? आखिर यो घरमा म त वर्षौंदेखि एक्लै छु ।’
रम्भा धूमिल चित्र सफा गर्न कपडा लिएर चित्रतर्फ अगाडि बढ्छिन् ।
चित्र पुस्छिन् । अनि चित्रलाई एक पटक फेरि नियालेर हेर्छिन् ।
तर चित्र सुन्दर र स्निग्ध देखिंदैन । चित्र झनै फुस्रो लाग्छ रम्भालाई ।
अनि रम्भालाई लाग्छ– ‘यो चित्र धेरै पुरानो भैसक्यो । शायद रङ्ग उड्यो ।’
रम्भाले नयाँ चित्र ल्याएर पुरानो चित्रको ठाउँमा राख्ने सोच बनाइन् ।
नयाँ चित्रका लागि आर्ट ग्यालरीमा फोन गर्न टेबलबाट मोबाइल उठाउँदै गर्दा टेबल अगाडि भित्तामा टाँगिएको ऐनामा रम्भाको नजर पर्यो । ऐनाभित्र रम्भाको आकृति थियो । कपालहरू तिलचामले देखिए । आफ्नै आँखाले आफ्नै आँखामा तेज कम देख्यो । आँखा वरिपरि हल्का चाउरी थियो । बलिष्ठ शरीर अलिकति झोलिएको थियो । चित्र बदलिएको थिएन । जीवन बदलिएको थियो । सृष्टि बदलिएको थिएन, दृष्टि बदलिएको थियो ।
कुनै दिन रम्भाको जवानी अर्कै थियो । भित्तामा झुण्ड्याइएको चित्र जस्तै ।
उनी आज अर्कै भैसकिछन् । रम्भाले भित्तामा देखेको चित्र जस्तै ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।