
“हाम्रो सरकारले देश र जनताको पक्षमा, गरीब दुःखीको पक्षमा महत्त्वपूर्ण काम गर्दै आएको छ ।” नेता चर्कोचर्को भाषण दिंदै कुर्लंदै थिए । उनले थप्दै गए, “कृषि, उद्योग, शिक्षा र रोजगारीमा अहिले हाम्रो ध्यान केन्द्रित छ । तपाईँहरूका कुनै गुनासा छन् भने तपाईंहरूले यहाँ प्रष्ट राख्न सक्नुहुनेछ ।”
नेतालाई बीचमै रोक्दै एक सहभागीले प्रश्न तेर्स्याए, “नेताज्यू तपाईंका कुरा हामीले कसरी पत्याउने ? के तपाईंहरूले कृषकलाई बालीनाली लगाउने समयमा रासायनिक मल उपलब्ध गराउन सक्नुभयो ? चाडबाड आयो कि बजारमा चिनीको हाहाकार हुन्छ । कालाबजारीले मूल्य बढाएर जनताको ढाड भाँचेका छन्, बाध्य भएर महँगोमा किन्नु परेकोछ । के अब जनताले चिनी पनि खान नपाउने हो ? हामीलाई यसको उत्तर चाहियो नेता जी ?”
नेताले मौकामा सोझा जनताको दिमाग भुटिहाले, “अहिले विश्वव्यापी रूपमा मधुमेह रोगको समस्या बढिरहेको छ, त्यसैले अब हामी नेपाललाई ‘सुगर फ्रि’ राष्ट्र बनाउन चाहन्छौं ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

