लामबद्ध थिए केही मान्छेहरू । तिनीहरूलाई अरू मान्छेहरू चम्चे भन्थे ।

ती चम्चे भनिएकाहरूको चुरीफुरी हेर्दै अचम्म लाग्थ्यो ।

चम्चेहरूको आदेश वा हुकुम भने अनौठो थियो ।

हुकुम नमान्नेहरूको तिनीहरू सातो लिन्थे ।

सातो गएपछि जस्तो मै हुँ भन्नेको पनि अनुहारभरि पसिना निस्किन्थ्यो ।

अचम्म ! अनुहारको पसिना पुछ्न पनि तिनै चम्चेहरूको अनुमति चाहिन्थ्यो ।

चम्चेहरूकै आदेश, निर्देश र हुकुमबाट चलिरहेकोथ्यो राजनीति र राजनीतिक व्यापार ।

यता राजनीतिक व्यापारीलाई फुर्सद नै थिएन भ्रष्टाचार गर्न र कमिसन पोको पार्न ।

भ्रष्टाचारको पहाड यति अग्लो भइसकेको थियो कि भ्रष्टाचार आफै लजाइसकेको थियो । तर चम्चेहरू भने निकै खुशी थिए, दङ्ग र प्रफुल्ल मुद्रामा बसेर इमानदारीको बिगुल फुकिरहेका थिए ।

बिगुल फुकेको आवाज शहरभरि मात्र होइन मालिकको कानसम्म पनि पुग्नै पर्दथ्यो ।

शहरमा एकदिन ठूलो जुलुस निस्कियो । जुलुसमा हिंड्ने तिनै चम्चेहरूको हात हातमा चम्चा थियो । उनीहरूको माग थियो – ‘अब हामी चम्चेहरूको पनि सम्मान हुनुपर्छ र यो शहरको चोकचोक अनि चौबाटोमा चम्चाको शालिक बनाएर राख्नुपर्छ ।’

उता मालिक चाहिं सोचमग्न भयो – चम्चेहरूलाई अब कसरी सम्झाउने ?