अहिले आएर पनि मेरो त्यो प्रयास गलत थियो भन्ने तिम्रो कुरा गलत होइन, तर म पनि गलत थिइन भनेर आफूलाई सम्झाइरहन्छु । ता कि, खिन्नताबाट मुक्त रहन सकूँ । मेरो स्वार्थको कुरै छाडौँ, म ऊप्रतिको प्रेमले पनि त्यहाँ गएकी थिइन । वास्तवमा यहाँ हुँदा पनि मेरो र उसको कुनै हिमचिम थिएन । स-साना केटाकेटी, बृद्ध हुँदै गएका सासु-ससुरा, तिनैको भविष्यको लागि मरिमेट्न विदेशिएको उसको श्रीमान् र बेवारीसेझैं भएर भौँतारिएकी ऊ । यही परिदृष्यले खिन्न बनेका तर अघि सरेर केही भन्न नसकेका तिमी जस्ता छिमेकी र मेरो अनुभूति मिलेकाले मेरा दुई शब्द र स्यानो प्रयासले भत्कँदै गरेको घर ढल्नबाट जोगिन्छ कि भन्ने सोँचले मात्र थियो । यही कामले म त्यहाँ गएकी पनि थिइन । आफ्नै कामले जाँदा त्यता पसेकी मात्र थिएँ ।
त्यहाँ गएपछिका उसका सम्बन्धमा जुन चर्चा यहाँ चलेको थियो त्यो चर्चा त्यहाँ झन् उग्र थियो भन्ने बुझ्न मैले कुनै सोधखोज गरिरहनु परेन । जुन आफन्तको घरमा ऊ बस्न आएकी थिई उनीहरूले उसलाई किन फर्काउन चाहेनन् वा सकेनन् वा अरु केही थियो भन्न सक्दिनँ र त्यतातिर बुझ्नथाल्न मलाई फुर्सद पनि थिएन । तर, म उसलाई आफ्नो घर फर्कन प्रेरित गर्ने मात्र होइन बरु सकेसम्म साथमै लैजानुपर्छ भन्ने सोँचले एकोहोरिएकी थिएँ ।
एकदिन ऊ बसेको टोलमा गएँ र उसलाई ऊ बसेको घर भन्दा बाहिरै भेटेर उसको घर परिवारको मलिन अवस्था र उसको सानै विवेकले प्राप्त हुनसक्ने सौन्दर्य र सबलताको बारेमा चर्चा गरेर उसको मनलाई पगाल्ने कोसिस गरेँ । मैले सुनेका उसका नकारात्मकताको कुरा नकोट्याउनु नै उपयुक्त हुन्छ भन्ने कुरामा म पूर्ण सजग थिएँ । उसले मेरा सबै कुरा मौन तर क्रुद्ध मुद्रामा सुनिरहेकी थिई । एक्कासी ऊ धैर्यता टूँटेझैँ, उत्तेजित भएझैँ देखिई । तर संयमित आवाजमा ‘अरूको बारेमा चासो नलिएकै राम्रो, आफ्नो सम्हालेर बस्नु, अरूको चियो-चर्चो गर्दै नहिन्नु’ भन्ने उपदेश दिएर हिँडी।
कुरा सुनेर म विष्मित भएँ । सायद मैले हतार गरेँ, छोटो समयमै सफलता खोजेँ । केही दिन पक्कै पनि उसको मनमा मैले भनेका कुरा खेल्नेछ र उसको मन परिवर्तन हुनेछ भन्ने आश मनमा उमारेर म खुरुक्क फर्केँ ।
एकहप्ता पछि, म यता फर्कने अघिल्लो दिन गएर उसलाई भेटेँ । उसले सकारात्मक कुरा गरिन । न त उग्रतापूर्ण जवाफ नै फर्काई । तर उसले मुहारमा मलाई लज्जित पार्ने गरी केही बोल्ने हो कि भन्ने मेरो अनुमानको भाव बोकेर दृढ आवाजमा भनी – ‘कसैले मेरो बारेमा चासो लिनु आवश्यक छैन । मैले के गर्नुपर्छ, के गर्नु हुँदैन म जान्दछु ।’ मैले उसलाई आश्वस्त पार्ने कोसिस गरेँ – ‘मैले अहिलेसम्म कसैसँग केही कुरा गरेकी छैन । तिमी आफैँ मसँग फर्कन खोजेकी हुँ भन्ने पारेर तैयार होऊ, भोलि बिहानै हिँड्ने हो म, तिमी पनि तैयार भएर निस्क ।’ उसले मेरो अनुहारमा एकटकले चुईगम चपाउँदै हेरिरहेकी थिई । ममा बिस्तारै मुटुको कम्पन बढ्दै गएको अनुभव गरेँ । उसको अनुहार राम्ररी पढ्न सकिन । ऊ सुरूक्क हिँडी । मसँग अब भन्नु केही रहेन भोलिप्रति आशावादी हुनु बाहेक।
त्यसरात म त्यतै बास बसेँ । त्यो बसाइमा उसको चर्चा न मैले गरेँ न कसैको सुनेँ।
भोलिपल्ट बिहान ऊ आफू बसेको घरमा थिइन । म पर्खने फुर्सदमा थिइन । झोला बोकेर निस्केँ । बाटोमा टोला सकिने ठाउँमा सार्वजनिक बोरिङमा महिलाहरू लुगाधुन र पानी भर्न थुप्रिएका थिए । उसलाई पनि त्यहीँ पानी भर्दै गरेको देखेपछि म अलिधेरै नै आशावादी भइछु । मैले उसलाई टोलाएर हेरिछु । हेर्दाहेर्दै एक्कासी ऊ क्रोधले थरथर कामेकी जस्तो देखेँ । उसका हातबाट भरिसकिएको पानीको भाँडो खस्यो, सायद कुच्चियो पनि । उसले भएभरको बल निकालेर चिच्याएर मलाई भन्नुनभन्नु भनी । उसलाई आफ्नै मनको बाघले खाएको थियो । उसको बारेमा कतै केही चर्चा नगरे पनि उसले मैले भनेको भन्ने आरोप लगाउँदै आफ्नो चरित्रको वर्णन गरी ।
मैले मान्छे त्यतिसम्म गिर्न सक्छ भन्ने कहिल्यै कल्पनासम्म नगरेको कृत्य गर्ने पातकीको रूपमा उसले मलाई उभ्याई । मैले बोलेका सबै असम्बन्धित कुराहरूलाई पनि उसले आफू उपर लगाइएको लान्छनाको अर्थमा व्याख्या गरी र उसले मलाई यस्तो चरित्रमा उभ्याई कि त्यहाँ उपस्थित सबैले मलाई एक व्यभिचारिणी र हामी बिचको सम्वादलाई दुई व्यभिचारिणी बिचको झगडाको रूपमा हेरेजस्तो देखियो । तर म केही बोलिरहेको थिइन । मलाई धेरै पहिले देखेको झगडाको सम्झना आयो, जहाँ दुईले एक अर्काको सवाल र शंकाको जवाफ दिइरहेका थिएनन्, बरु एक अर्कामाथि व्यभिचारको आरोपले भँडास पोखिरेहेका थिए।
मैले जे जुन हल्लाहरू अफवाहको रूपमा लिएँ, यस्तो लाग्यो उसले चिच्याई चिच्याई ‘ती सत्य हुन्’ भनिरहेकी छे । मानिसलाई लाजले बाँध्छ, अतिलाजले घेरिएर मेरा आँखाले अन्धकार मात्र देख्दै थिए, लज्जा विहिनताले ऊ बाँध भत्किएको जलाशय भएकी थिई । म त्यहाँबाट तत्काल विलिन हुनुको विकल्प देखिनँ ।
म दौडिरहेको थिइनँ, तर आफैँलाई म दौडिरहेकी छु भन्ने अनुभूति भैरहेको थियो । मैले आफैँलाई सम्हाल्न सकिनँ, म आफ्नै खुट्टामा अल्झेर लडेँ र आफ्नै हात टेकेर उठेँ । मलाई ऊप्रति घृणा जागिरहेको थिएन । उसको अनुहारको झझल्को पनि आइरहेको थिएन । मलाई त अप्रत्यासित रूपमा ढलमा खसेकोले आफू नै दुर्गन्धित भएको जस्तो अनुभूति भैरहेको थियो । मैले आफैँले आफैँलाई घृणा गरिरहेको थिएँ- म कस्तोमा फसेँ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।