श्रवणकुमार ढुंगाना

र त्यो सम्पन्नता केहि दिन मै सकियो । ममा जरा थिएन । संस्कारको जरा । त्यो बोटको फलजस्तो थिएन । त्यो त सोकेसको सुनजस्तो थियो, सकियो । तिमीले ठिक भनेका थियौ, ऊ संस्कारले महाराज भएको थिएन । ऊ त आफ्नो छुद्रता, संस्कारहीनता र दम्भले महाराज भएको थियो । नत्र त जब सर्वस्व लुटिएको घाइते पहिलोपटक म दयाको आश राखेर महाराजको दरवार अघिल्तिर लडेँ । मलाई कैद गरियो । के महाराजलाई थाहा थिएन ? झ्यालखानाको खानाले म बाँचे, तर मेरो मर्यादा मारियो । अर्कोपटक आउँदा मेरा शरीरमा लुगाहरू फाटेका थिए । मलाई पागल ठानेर पागलखाना लगियो । के महाराजलाई थाहा थिएन ? पागलखानाको खानाले म बाँचेँ, तर मेरो नाम बदनाम भयो । मलाई मेरो जिन्दगी र मेरो परिवेश जटिल लाग्न थाल्यो । म साच्चिकै बहुलाएँ । मलाई मेरो शरीरमा कुनै वस्त्र हुनु र नहुनुले कुनै फरक पार्न छोड्यो । मैले अनेकन पागलपनका ताण्डव प्रदर्शन गरेँ । र म निर्वस्त्र नै दरवारमा पुगेँ । मलाई उनीहरूले स्याहार गरे । महाराजबाट निगाह बक्स भयो । म सम्पन्न भएँ ।

त्यस दिन मेरो कुराले तिमी मुस्कुराएका थियौ । तिमी आफ्नै मुस्कानको आनन्दमा एकछिन डुब्यौ र भन्यौ – जुन औकातले उसले आफूलाई महाराजमा पुर्‍यायो त्यही औकातमा तिमीलाई भेट्दा मात्र उसले तिमीलाई देख्यो ।

र म भ्रममा थिएँ । म विद्रोही हुनुको भ्रममा तर महाराजकै अधोयात्रामा । जति बेला म यात्रा विश्रामको सङ्घारमा पुग्दै थिएँ- मैले बुझे !