श्रवणकुमार ढुंगाना

ती पाइतालाले फुटेर बगाएका
रगतले कुँदेका बैखरी
तिम्रा पाइतालाले छोएरैमात्र
बुझ्नेछन्
अक्करे भीर जस्ता जीवनका यात्राका
ती बाटाहरू
र कथ्नेछन् नयाँ गोरेटोका अक्षरहरू।

ती दस नङ्ग्राले खोस्रेर जगाएका
धर्तिको उर्वरता
ती निधारबाट बगेका पसिनाले फैलाएका
हिलोको सुगन्धमय राग
तिम्रा चेतनले भोगेर
पढ्नेछन्,
बालुवाको घर जस्तो अनिश्चित
जीवनको आकार
र, गाउनेछन् अनिश्चितताकै शास्वतताका गीतहरू।

गुराँसले कसरी सिम्रिकले नुहायो?
गुलाफले कसरी रगतको रंग पायो?
नभमा कसरी नील रंग छायो?
बिहानीले कसरी चंदन लगायो?
विज्ञानले कुँदिएका
सूचनामय अक्षरहरूले
भन्नेछन् अणुका रहस्यमयी चाल।

तर सौन्दर्यको त्यो जन्मकथा
र तिनका सकसपूर्ण उद्भवकोअन्तर्य
अनि तिमीलाई पुलकित पार्ने
त्यो सौन्दर्य प्रतिको उनीहरुको आफ्नै अनभिज्ञता
तिमीले
ती पहराहरूमा झुण्डिएर
ती काँडाहरूमा उनिएर
यात्रामा
हृदयमा विकाररहित शून्यता भरेर
नुहाएर आशाका रश्मिले क्लेशका अन्धकार मेट्दै गर्दा
मात्र बुझ्नेछौ।

उत्तर दिनेछैनौ
तिम्रा बराजुहरू
टाक्सिएका थिए पहराका चट्टानहरूमा काइ झैं,
उत्तर खोज्नेछौ
कसरी उभ्याए उनिहरूले आफूलाई
चट्टानका ती छातीमा
र सुरक्षित पुर्‍याए तिम्रा हातसम्म
जीवनको अमृत घडा
र सिक्नेछौ
कसरी पुर्‍याउनु छ त्यो घडा
आफैबाट जोगाएर
नसिद्ध्याएर/नपोखेर
आफ्नै अमरत्वको अर्को चरण
आफ्नै सन्ततिसम्म ।

तिम्रा पाइतालाले फुटेर बगाएका
रगतले कुँदेका बैखरी
तिनका पाइतालाले छोएरैमात्र
बुझ्नेछन्
अक्करे भीर जस्ता जीवनका यात्राका
यी बाटाहरू
र कथ्नेछन् नयाँ गोरेटोका अक्षरहरू।