

श्रवणकुमार ढुंगाना
महाराज !
मलाई त्यसरी मारिबक्सियोस्
जसरी मरेर
मसान घाटमा, चिहानमा
अतृप्त सपनाले तड्पिहिंड्ने
अकस्मात् बाटो काटेर तर्साएर मार्ने
मुर्कट्टा बनिन्छ,
जसरी मरेर
बदलाको आगोमा जल्दैहिंड्ने
प्रेमको जालले सुकाएरै मार्ने
किच्कन्ने बनिन्छ ।
महाराज !
हो, मलाई त्यसरी नै मारिबक्सियोस्।
महाराज !
हजुरका घरका भित्ताहरूमा
कति कङ्कालहरू
दिनभर निसास्सिएर तड्पिन्छन्
र रातभर उज्यालोको खोजीमा
वायु बनेर भड्किन्छन्,
जुन त्यो हजुरको बुइँगलमा
ख्याक पालिबक्सिएको छ
उनीहरूलाई जसरी मारिबक्सिएको थियो
हो त्यसरी नै
महाराज !
मलाई पनि मारिबक्सियोस् ।
महाराज !
हजुरको आज्ञाकारी बनेर
हजुरको सेवा गर्दैगर्दा
उत्साहले अलि टाठिएका ती
हजुरको मनोगत शंकाको सिकार बनेका
ती सेता भुतहरू जसरी होइन,
हजुरले हात थापेर तिनीहरुका अगाडि
तिनीहरूबाटै लिइबक्सिएको विश्वास
त्यही विश्वासको आकाशमा उभिएर
हजुरले पाउले टेकेर तिनीहरूमाथि
तिनीहरूबाटै खोसिबक्सिएको शक्ति
उनीहरुले फिर्ता माग्दै गर्दा
हजुरका कृपाले बनेका
ती काला भूतहरू
हो त्यसरी नै
ती जस्तै बन्नेगरी
महाराज !
मलाई पनि मारिबक्सियोस् ।
एउटी
हजुरले आची पुछेर फ्याँकिबक्सिएको
ट्वाइलेट पेपर जस्ती
झुम्री
हजुरको ढोकै अगाडिको चोकमा
तँ बलात्कारी होस् भन्दै चिच्याउँदा चिच्याउँदै
ढली होली!
एउटो
हजुरले त्यो
चर्को स्वरमा
झुक्किएरै हो तर
बोल्यो भनेर, लात हानेर
तीन कान्ला तल खसालिबक्सिएको
त्यो फुङ्गिन
लुँडो
हजुरको बारी पछडिको चौरमा
तँलाई किरा परोस् भन्दै चिच्याउँदा चिच्याउँदै
मर्यो होला!
तिनका आत्मा पनि त्यतै कतै घुम्दै होला।
महाराज !
म मरेपछि
चाहेर पनि हजुरलाई भन्न नसकेका
भनेर पनि हजुरले सुन्न नसकिबक्सिएका
सुनेर पनि हजुरले नबुझिबक्सिएका
घिड्घिसो लिएर मरेका
अतृप्त ईच्छाले भड्किएका
ती आत्माहरूलाई पनि सँगै लिएर आएर
उनीहरुकै भाषामा
उनीहरुकै शैलीमा
म हजुर समक्ष
मेरो घिडघिसो * समेत
बिन्ती बिसाउन चाहन्छु,
ज्यूँदै छँदा हजुरको नजरमा पनि नअटाएको म
मरेपछि हजुरको वाणीमा छाउन चाहन्छु,
किनभने
मरेकाहरूको चर्चा
हजुरको मुखबाट धेरै पटक सुनेको छु।
त्यसैले
महाराज !
मलाई त्यसरी मारिबक्सियोस्
जसरी मरेर
मसान घाटमा, चिहानमा
अतृप्त सपनाले तड्पिहिंड्ने
अकस्मात् देखापरेर तर्साएर मार्ने
मुर्कट्टा बनिन्छ,
जसरी मरेर
बदलाको आगोमा जल्दैहिंड्ने
प्रेमको जालले सुकाएरै मार्ने
किच्कन्ने बनिन्छ ।
(* मृत्युअघि पुरा गर्न नसकेको धोको/तिब्र इच्छा । )



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

