कुन्नी केमा अडिएका खुट्टाहरू छन् हजुरका
उभिएर कार्पेटमाथि
थामेको छ हजुरको शिरलाई
जो प्रवचन दिंदैछ
बुद्धका, माक्सका
रामानुजका, चार्वाकका
पुँजीवादका, साम्यवादका !
हजुरका घोषणा छापिन्छन्
कागजी र डिजिटल अखवारहरूमा
लोभले नछुने र बेइमानीले नडो¥याउने !
यो आश्चर्य एक भ्रम हो भन्नेमा
मानिसहरू तब ढुक्क हुन्छन्
देखिन्छन् जब हजुरका आज्ञाकारी
बिराला, कुकुर र बाघहरू
हजुरका धन्सारबाट निस्कँदै गरेका
मानिसका बस्तीहरू तिर
सके बिरालाहरूले चोरेरै ल्याउलान्
नसके कुकुरहरूले भुकेर तर्साएरै ख्वाउलान्
तिनले पनि नसके
अन्त्यमा बाघहरू त छँदैछन्
हजुरको चुल्हो पक्कै पनि निभेको छैन !
मानिसका भोक भजाएर बजेका हजुरका भाषणहरू
भोकले निहुरिएका
मानिसका पिठ्युँ टेकाएर उठेका हजुरका उचाईहरू
भएसम्म
बोलीका मिठासहरूमा हो जस्तै पारेर
नभए
बेस्वादु तर्कहरूले दबाएर
त्यो पनि नभए
धम्कीका अग्नि ओकलेर
ढाकिएका हजुरका लाजहरू
रहेसम्म
कुकुर, बिराला र बाघहरू
हजुरका धन्सारेहरू
चम्किँदै जानेछन्
चुलिँदै जानेछन्
र पनि
ढाकिँदै जानेछन्
हजुरले सडाएका
दुर्गन्धित किर्तिहरू !
हजुरका चिम्नीबाट धूवाँ आइरहन्छ
हामीहरू ढुक्क हुन्छौं
हजुर ज्युँदै होइबक्सिन्छ !
हाम्रा जलेका मुटु र
त्यो हजुरको धुवाँको के साइनो छ कुन्नी
आँखा रसाइरहन्छ
हाम्रा गर्भे टुहुरा सपना र
त्यो हजुरको धुँवाको के साइनो छ कुन्नी
चिता गन्हाइरहन्छ !
हाम्रा निमुखा आत्मसम्मान र
त्यो हजुरको धुँवाको के साईनो छ कुन्नी
फोक्सो निसास्सिइरहन्छ,
स्वाधीनताको भोकले आत्महत्या गरेका
बैखरीका प्यासले आत्महत्या गरेका
मात्र होइन
दुईगाँस भातले तड्पी तड्पी मरेका
मानिसहरूका कथाहरू, कविताहरू
फेरि पनि
आफ्ना कंकाल जस्ता डँडाल्नो थाप्न
हजुरका पाउमुनी आइपुग्ने नै छन्
हजुरको भाषण पनि निरन्तर चलिरहने छ
हजुरका धन्सारेहरूको रजगज पनि चलिनैरहने छ !
जब हजुरका शुद्धताको अन्तर्य
समकालीक एकात्मकाता प्रदर्शन गर्दै
एक भ्रम सावित हुन्छन्
हामीमा विद्रोहको ऐठन परास्त हुन्छ
हामी त मयका अमृत कुण्ड पनि पराजित
हाम्रा छातीमा हजुरका बिराला, कुकुर र बाघहरू
आफ्ना पाइताला राखेर हिँड्न थाल्छन् ।
जहाँ जहाँ भोकको पिडाको साम्राज्य छ
जहाँ जहाँ धनको उन्मादको साम्राज्य छ
जहाँ जहाँ शक्तिको मोहको साम्राज्य छ
हजुर वा हजुरकै बुख्याँचाहरू अधिनस्त
समयको कथानक यस्तै यस्तै छ ।
हाम्रा प्रश्न विहीन
सम्मोहित अनुहारहरू
आश्चर्यचकित छन्
हामीले जानेदेखि नै
कुन्नी केमा अडिएका खुट्टाहरू छन् हजुरका
उभिएर कार्पेटमाथि
थामेको छ हजुरको शिरलाई
जो प्रवचन दिंदैछ
बुद्धका, माक्सका
रामानुजका, चार्वाकका
पुँजीवादका, साम्यवादका !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।