म त असाध्यै कमजोर छु
औषधि पनि त जोखेर मात्र खान्छु
तिमी अञ्जुलीको बोक्रा देखाउँछौ
जो विषले भरिएको प्याला जस्तो छ
इच्छा त यहि थियो
कृपया ममा तिमी प्रतिको भ्रम टुट्न नदेऊ
टुट्यो भने
कठै विडम्बना
मानिसलाई नै सत्तो-सराप गर्न मानिसलाई नै गुहारेर
बचेको जीवनको पलभरी म त विस्मयमै तड्पेर सकिनेछु।
अविश्वास मैले तिमीलाई गरेको होइन
चार दिनको जिन्दगीमा
दुई दिन आफ्ना लागि
दुई दिन आफ्नाका लागि बाँचुँला भनेको हो
तर दुई घुड्को तिर्खा दुई गाँस भोक दुई सर्को प्राण खोज्दै
धर्ती रोप्न भौतारिएका हातले
तिमीले बोक्न उक्साएको बन्दुक बोकेर
म आफै मान्छे
मान्छे विरुद्ध आफै तिमी भएर उभिएर
बकिरहेछु
बिर्से म कहाँ छु
मेरा कहाँ छन्
र बिर्से सोध्न
बर्षौँदेखि सोध्छु भनेर पनि सोध्न नसकेका प्रश्न
अरुको दुई दिन उजाड्दै हिंड्दा
आफ्नो दुई दिन कसरी बाँच्छौ
जो बचेका अरूलाई काँडाले कुल्चेरै सक्दा
आफ्नाका दुई दिन कसकालागि बाँच्छौ
तिमी त विश्वासको होइन भयको संसार बनाउँदैछौ
बलियो र निर्धोको जंगली शासनमा
मानिसको स्वाद कस्तो हुन्छ
मानिसको सुवास कस्तो हुन्छ
मानिसको प्रकाश कस्तो हुन्छ
तिमीलाई सुन्छु म ठीकैछु जस्तो लाग्छ
तिमीलाई देख्छु म भ्रममा छु जस्तो लाग्छ
मलाई भनिदेऊ
तिमी माटो जित्दैछौ कि मन
तिमी आकाश जित्दैछौ कि मान
तिमी बतास जित्दैछौ कि प्राण
आखिर तिमी पनि त असाध्यै कमजोर छौ
औषधि पनि नापेर मात्र न खान्छौ
अनि यो विषको खहरे उर्लाएर किन हिँड्छौ
तिम्रा दुई दिन अहंकारको रातमा चितामा स्वर्ग देखेरै बित्नेछ
र आफ्नाका लागि साँचेका दुई दिन खरानीको डोरेटो कोरेर सकिनेछ
कसका लागि आर्जदैछौ भूगोल
मर्दैछ यो पाषाण धर्तीको अन्तर्यको जीवतत्त्व
सत्य यही हो युद्धोन्मादमा
तिमी खरानी माथि चिहानको महल सजाउँदैछौ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।