लौ म त यस्तै यस्तै नै छु हुने नहुने सोचिरहन्छु
हरेक पल उनको मुस्कानमा बाँधिने सोचिरहन्छु

कुन गणितले चल्छ उनको मुटु छाम्न सकेको छैन
उनकै लागि आकाशको चन्द्रमा छुने सोचिरहन्छु

मुस्कान किन्न हिँडेका प्रेमीहरूको यो मेलामा छु
पत्थरका आँखा आँशुले पखाली ब्यूँतिने सोचिरहन्छु

घेरिएर अभावले, विवर्तित छु किरणपूञ्ज झैँ
छरिए पनि रूवाझैँ उनकै मात्र हुने सोचिरहन्छु

चितामा उभिएर विघटित हुनेछु स्थूल आकारबाट
सबैले जिउँदै जलाउँदा पनि नरुने सोचिरहन्छु ।