मुस्कुराऊ
सडकमा चिप्ल्याएर पैदल यात्री
मुस्कुराइरहेछन् किनारामा मानिसहरू
तिमी पनि मुस्कुराऊ।

श्रवणकुमार ढुङ्गाना

मुस्कुराऊ
वस्तु हुलेर अरूको बारीमा
रूख चढेर सुसेल्दै
मुस्कुराइरहेछन् गोठालाहरू
तिमी पनि मुस्कुराऊ।

मुस्कुराऊ
देउथानमा पर्सिएको अबोध जिन्दगी
बलिवेदीमा एकैमारमा छिनाएको विजयउत्सव झैं
मुस्कुराइरहेछन् कसाईहरू
तिमी पनि मुस्कुराऊ।

मुस्कुराऊ
बाध्यताको गल्लीमा सकसपूर्ण श्वास लिंदै
भागिरहेका कायरहरू हेर्दै
व्यभिचारको बार्दलीबाट
मुस्कुराइरहेछन् उपहासका झंकरहरू
तिमी पनि मुस्कुराऊ।

मुस्कुराऊ
पेटले घिसारिएर टाउकाले टेक्दै
गाएको स्वस्तिगानको स्वीकृतिपछि
दिग्विजयको भ्रम लिएर
मुस्कुराइरहेछन् सेवकहरू
तिमी पनि मुस्कुराऊ।

मुस्कुराऊ
मुस्कुराउन खोजिरहेको धर्तिको जिजीविषा
निमेषभरमै निमोठ्न सक्ने प्रलय आफ्नै औंलामा बोकेर
मुस्कुराइरहेछन् साम्राज्यहरू
तिमी पनि मुस्कुराऊ।

मुस्कुराऊ
चोरीपछिको चतुर्याँईं मुस्कुराएजस्तै
मुस्कुराऊ
डकैतीपछिको साहस मुस्कुराएजस्तै
मुस्कुराऊ
बलात्कारपछिको पौरूष मुस्कुराएजस्तै।

मुस्कुराऊ
मैदानबाट सडक समाऊ
सडकबाट आँगनमा आऊ
आँगनबाट कोठामा जाऊ
कोठाबाट कुना समाऊ
र लुकाऊ आफ्ना हात र खुट्टाका कापमा
आफ्ना शीर
र, दबाऊ पेट

जब जीवनको अनुरागको अन्धकारसँगको सङ्ग्रामपछि
रगतको लालिमा पोतेर
शहीदका सन्नाटाले ढाकेको धर्तिमा
भर्भराउँदो रगतको सागरबाट उठेको
आकाशको नानी उदाउँछ
बाहिर आऊ, आफैँलाई समाऊ
र, आफैँलाई बाँचेको भेटेर
आफ्नो महानतामा मुस्कुराऊ।