

श्रवणकुमार ढुंगाना
सुनसान सडकमा
चोकमा
वा त्यस्तै कतै
उदास टोलाइरहेको
बेचैन छटपटाइरहेको
थकानले गलित
तर आफैँलाई जगाइरहेको
ऊ तिम्रो प्रेमी हो।
झरीले चुटिरहेको
हावाले उडाउन खोजिरहेको
सम्हालिएर बडो मुस्किलले
देब्रे हातले देब्रे छाती छोपेर
दौडिरहेको
घरको दैलो टेक्दा नटेक्दै
भिजेर निथ्रुक्क परेको कागजको नोट
निकालेर गोजीबाट
खिन्नताले, आशाले अलमलाइरहेको
त्यो तिम्रो प्रेमी हो।
एक मुठ्ठी मुस्कान मुहारमा
एक झल्को जून हृदयको संघारमा
र, तिमीप्रति साँचेका मौन वाचाहरू सम्झेर
गुलाम चेतनाले हुर्काएको
छुद्र नोकरशाहहरूको
निर्लज्ज चिमोट्याईँहरू सहँदै लखेटिँदै
विवशताले डोरिएर बदनाम गल्लीहरूमा
आत्मग्लानिले छटपटाइरहेको
त्यो तिम्रो प्रेमी हो।
तिमीलाई चिटिक्क सुहाउने रंगीन साडी
तिमीमा झलक्क झल्किने सूवर्ण आभूषण
सडक किनाराका प्रदर्शनीहरूबाट
तिर्खालु नजरले घुटुक्क निल्दै
हृदयको अन्तरकुनाबाटै निस्केको प्रेमिल कसम
र, त्यस्तैगरी
पहिरो गएको सपना फूल्ने बारीका पाटाहरू
सम्झँदै
आफैँले आफैँलाई लखेटिरहेको, क्लान्त
साँझपख ढोकामा उभिन आइपुगेर
मुस्कुराउने अनुमति मागिरहेको
त्यो तिम्रो प्रेमी हो।
हजार सुकिला स्वप्नयात्रीहरू छोडेर
तिमीले रोजेको
तिम्रै माया अटाउने
अँजुली फैलाउन खोज्दाखोज्दै पनि
यो संसारका खुसीका सप्पै छालहरू
तिमीमै समेटेर बाँध्न
अँगालो कस्दाकस्दै पनि
पराजित, घाइते
उसलाई सम्हालेर राख
ऊ तिम्रो प्रेमी हो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

