मान्छे थपिँदा छन्
एक्लोपन बढ्दो छ
मान्छेका कतार फाँडेर
मान्छेकै बस्ती बसाउन हिँडेको कोही
आज
मान्छेकै कतारमा छ
र आज फेरि कोही
मान्छेका कतार फाँडेर
मान्छेको बस्ती बसाउन हिँडेको छ
मान्छेहरू थपिँदा छन्
एक्लोपन बढ्दो छ
एउटा फूलको चोटले घाइते मान्छे
पत्थरको चोटले ढलेको बटुवाको
कविता बोकेर गाउँबाट
श्रव्यान्त्र, दृष्यान्त्र भरि
घन्काइरहेछ आफ्नो आवाज
फिँजाइरहेछ आफ्नो अनुहार
बेचिरहेछ आफ्ना अक्षर
खल्तीभरि यही पुरूषार्थको आर्जन भरेर
खोजिरहेछ व्यासमा आफ्नो अहंकारको आसन
अनकण्टार दुर्गमा
एकान्तिक आनन्दको अभ्यास गर्न
आह्वान गरिरहेको शिला
लतारिएर कोलाहल माझ
याचना, दुर्जना
सकस, र बेचैनीको हाटजस्तो
भर्भराउँदा समिधाहरूले घेरिएको
निस्सासिँदो हवनकुण्डको रापमा …
को भन्न सक्छ –
-ईश्वर मौन समाधिमा छ ?
-मानिस आनन्दको आँधीमा छ ?
एउटा द्रवित हृदय
आँशुको खहरे किनार
दु:ख पुछ्ने हातहरू पर्खँदा पर्खँदै रात पर्छ
आखिर टुटिजाने विस्वास नै अन्धविस्वास न हो ?
अन्धविश्वास!
मध्य शहरमा नक्कली सामान बेचिरहेको पसले
एक अन्धविश्वास
सुदूर गाउँमा दानै नलाग्ने मकैको बिऊ बाँडिरहेको सरकार
एक अन्धविश्वास
अन्वेषणको हरेक दिन बदलिइरहने सत्य ओकल्ने विज्ञान
एक अन्धविश्वास
यिनै अन्धविश्वासका मसिहाहरू
अन्धविश्वासै अन्धविश्वासको रनाहामा
अमूर्त आस्थाको पण्डालमुनि
निदाउन खोजिरहेका अन्धविश्वासहरूको टाउकामा टेकेर औंलो ठड्याई ठड्याई
उनैको खिल्ली उडाइरहेछन्
छाडिदेऊ युग बनाउने क्रान्तिका कुरा
छाडिदेऊ समय बोल्ने कविताका कुरा
छाडिदेऊ परमात्मा चिन्ने आत्माका कुरा
छाडिदेऊ दु:खका कहर उधिन्ने सहयात्राका कुरा
लगाउ छद्म अनुहार र बेच
सबैभन्दा नजिकको कसैको भरोसालाई
सबैभन्दा निरीह कसैको पसिनालाई
सबैभन्दा मूक कसैको आस्थालाई
सबैभन्दा व्याकुल कसैको आत्मालाई भाषणहरूले वा कविताहरूले
आदेशहरूले वा उपदेशहरूले
अनि तिम्रो यही अवतार नै
सबैभन्दा सम्पन्न हुने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।