तपाईंले त चिनेको हुनुपर्ने । उहाँ त निकै चर्चित हुनुहुन्छ नि ! एक पटक स्वप्नलोकमा दलाल पूँजीवादको लहराले गाँज्यो, स्वप्नलोक त झाडीदार कुनो जस्तो भयो भन्ने चिन्ता व्यापक भएको बेला त्यसलाई त्यसको ढाडबाटै भाँचेर गलहत्याएर बाहिर निकाल्ने पार्ने समाधान उहाँले नै खोज्नु भएको थियो नि ! तपाईंले सम्झनु भएन? आफू भित्रको दलाललाई गलहत्याएर ढोकाबाहिर राख्ने अनि कसैले पूँजी जिम्मा लगाउन ल्याएमा आफूले नलिने,  त्यही दलाललाई जिम्मा लगाउने भनेर कति सरल र प्रभावकारी समाधान निकाल्नु भएको थियो ? अझ अर्को सङ्कटमा पनि उहाँले अभूतपूर्व चातुर्य प्रदर्शन गरी धर्तीलोकमा कृषिजन्य र औद्योगिक जमिन दलालीकरणले कृषि, उद्योग र देशकै अर्थतन्त्र टाट उल्टने आशङ्का निर्मूल गर्न र भूमिपतिहरू मात्र नभई हज्जारौँ बेरोजगारहरूलाई रोजगारी दिलाउन भूमिको दलालीकरणलाई जोगाउँदै कृषिमा क्रान्ति पनि गर्ने गरी कौशी खेतिबाट देशमा कृषि क्रान्ति ल्याउने अवधारणा पेश गरी नेतृत्वलाई नैतिक तथा आर्थिक सङ्कटबाट जोगाउनु भएको थियो नि । त्यसरी उहाँ जस्तोसुकै सङ्कटमा पनि दह्रो खुट्टा टेकेर परिस्थितिलाई घिसार्दै भए पनि समय कटाउन सक्ने क्षमतामा विख्यात हुनुहुन्थ्यो नि ! आवश्यकता थियो त्यसैले वहाँ नै अहिले पनि नेतृत्वको आश र विश्वासको नजरमा पर्नुभयो ।

हो वहाँलाई नै हो अहिले अन्धकार निर्मुल गर्ने जिम्मा दिइएको । यस लोकका सबै मानिसको जीवनको अन्धकार निर्मूल गर्ने र अन्धकारको आवरणमा हुने सबै कुकृत्य उदाङ्गो अनि निमिट्यान्न पार्ने । यस्तो अन्धकार निवारण आयोजना देखाउनकै लागि मात्र भए पनि तत्काल शुरू गर्नुपर्ने थियो । अन्धाधुन्ध अन्धकार निर्मुल गर्न लाग्दा धेरै कुरा उदाङ्गिन सक्थ्यो । त्यसैले त चमत्कारीक उपायका धनी उहाँको खोजी भयो । उहाँले पनि चमत्कारिक रूपमा उपाय खोज्नुभयो ।

मुख्य समस्याको पहिचान यसरी भयो- ‘अन्धकारको प्राथमिक कारक छाया हो, त्यसैले पहिले छाया निर्मुल गर्ने’ । छाया निर्मुल कार्य शुरू भयो । छाया पार्नेको ढाड सेकेर । छाया पार्नेहरू आतङ्कित भए । भागाभाग भयो ।  उहाँको समितिबाट कार्य सफलताको प्रारम्भिक प्रतिवेदन पनि आयो- कार्यक्रमले शुरूवाती सफलता देखाएको, छायाको मुख्य कारक वा अन्धकारको मुख्य जड पैदल यात्री भएको र छाया पार्नमा गाडी चढ्नेहरूको कुनै योगदान नभएको विवरणसहित ।

तर, समायान्त सँगै कार्यक्रम असफल होला जस्तो भयो । आतङ्कले मानिस पैदल हिँड्नै छाडे, तर अन्धकार भने विस्तारै बढ्दै गयो र लोकै ढाक्न थाल्यो । उहाँमा ठूलो सङ्कट आइलाग्यो । आजसम्मका सबै सफलताहरू यसैले खाइदेला जस्तो भयो । अन्धकारभित्र पसेर अन्धकार समाएर बस्नेहरूलाई नखोजी अन्धकार मेटाउन सकिन्न भन्ने तथ्यले उहाँलाई गाँज्दै लग्यो र त्यस्तै गाईंगुईं बाहिर पनि हल्ला कै रूपमा बढ्दै गयो ।

उहाँलाई निकै दबाब परेपछि उहाँ आफैले अमिलो मुख लगाउँदै अन्धकारमा पस्ने हिम्मत गर्नुभयो, तर केहीबेरमै उत्साहित हुँदै बाहिर आउनुभयो र भन्नुभयो- ‘त्यहाँ त कोही भेटिएन, अन्धकार बनाउने कुनै टाउको देखिएन’ ।

मानिसहरू दुखी भए । वास्तवमा अन्धकारको कारक समाउन नसक्नु वहाँको असफलता थियो । एकैछिन खुसी भएपनि आफ्नो असफलताको कुराले वहाँलाई दुखी बनायो । कसैले वहाँलाई भन्यो- ‘तपाईंले हतार गर्नुभयो । हतार हतार माथि-माथि हेरेर फर्कनुभयो । त्यसरी हुन्न । आरामले हेर्नुस् । खुट्टा हेर्नुस्, खुट्टा’।

अनिच्छा र असफलताको डरको द्वन्द्वबिच उहाँ बडो भारी मन लिएर फेरि अन्धकार भित्र छिर्नुभयो । नभन्दै उहाँले त्यहाँ अनगिन्ती खुट्टाहरू देख्नुभयो । अनि, ती खुट्टाका मालिकहरू पनि देख्नुभयो । जे नहोस् भनेको त्यही भयो । अन्धकार पार्ने र जोगाइराख्नेहरूको त्यो भिडमा सबै भन्दा अगाडि त उहाँलाई अन्धकार हटाउने जिम्मेवारी दिनेहरू नै हुनुहुन्थ्यो । अझ आश्चर्य त के भने त्यहाँ वहाँले आफैँलाई पनि देख्नुभयो ।

पर्खनेहरूले बाहिर पर्खिरहे । उहाँ फर्कनुभएन । अन्धकारले कम हुने नामै लिएन, बरू विस्तारै झन् झन् गाढा हुँदै गयो । सपना देखाउने, सपना घिसार्ने खुट्टाको खोजी हुने यस्ता कथा दोहोरिने क्रम चली नै रह्यो ।