श्रवणकुमार ढुङ्गाना

हिजो,
घामले डढेर
तिनका
चिचिला पाइलाहरूले
धाँजा फाटेका धर्तीका गह्राहरूमा
उठाउन नसकेर जिउँदा टाउका
नजन्मँदै आत्महत्या गरेका
जिजीविषाका अङ्कुरहरू
देखेर,
पानीले आफूलाई
जलाएर रविको रापमा
बादल चढेर आयो ।
लाजले घामले पनि
आफूलाई
जीवनको अंश बनायो ।
आज बताससँग
चल्मलाइरहेका तीन हातका जिन्दगी
बादल, नदी र सागरलाई
धारे हात लगाइरहेछन्
नीतिकथा सुनाइरहेछन्,
यी नकटाहरू
घाम, पानी र जीवनको
सङ्घर्षले बाटिएको डोरी छिनाइरहेछन्।