श्रवण कुमार ढुंगाना

अत्यासको एकलासे अन्धकार
गुनगुनाइरहेछ
म सुनिरहेछु ऊ सुनाइरहेछ

हिँड्दै गर
हिँडिराख
जति सक्छौ रफ्तरमा
सक्छौ भने दौड
हेरेर
सोचेर
होसमा

कहिलेकाहीँ बेहोसीमा
जीवन गति हो दौड हिँड
जब सुस्ताउने दिन आउँछ
पुराना दौड सम्झेर रोमाञ्चित होऊ
मुस्कुराऊ

कहाँ कहाँ छलियौ र
कहाँ कहाँ छल्यौ
खुट्टा तानिएका दिन र
खुट्टा तानेका दिन
हृदय फुटेका दिन
हृदय फोरेका दिन
हाँसेका दिन हँसाएका दिन
रोएका दिन रूवाएका दिन
आफ्ना कर्मले मुस्कुराऊ
तिम्रो कमाई त्यही हो
आफ्ना कर्मले रसाऊ
र झकझक्याउ सन्ततीलाई
तिम्रो प्रायश्चित त्यही हो
आफ्ना भोगाइले गौरवान्वित होऊ
तिम्रो उपलब्धि त्यही हो ।

अत्यासको एकलासे अन्धकार
गुनगुनाइरहेछ
म सुनिरहेछु ऊ सुनाइरहेछ

मेरो अन्तिम प्रश्नको जवाफ छैन ऊ सँग
मेरा अन्तिम पाइला अघि नै
सायद हजार उत्तरहरूले गुलजार अन्धकारमा
अन्धकारको अत्यासमा
आत्महत्याबाट बच्दै
मेरा अन्तिम पाइला पछिका
शून्यताको शाश्वतता स्विकार्नुपर्छ
अनि म फर्कनुपर्छ
सायद जिन्दगी कथाहरूको चक्र हो
त्यसैले पनि म फर्कनुपर्छ
दौडको अन्तिम लक्ष्य भन्न नसक्ने
मेरा अग्रजका प्रायश्चित सुन्न
सन्तोष सुन्न
र एकदिन
आफ्नै यात्राका कथा बुन्न ।