“तिमी मोटो देखिए पनि तौल त मैरै बढी रहेछ नि ? तिम्रो हड्डी सानो खालको छ। बोसो बढी छ, भद्दा देखिन्छौ। त्यसैले पनि तिमीलाई हत्पत् कसैले किन्न खौज्दैन नि ! तर, दु:ख नमान बजारमा म जस्ता खसी सकिँदै गएपछि त तिमीलाई पनि किन्न आइहाल्छन् । मलाई त अब घरकैले खाने भनेर राखे, आनन्दै भयो । हाम्रा कुप्री हजुरबा/हजुरआमाका पनि कुप्रि हजुरबा-हजुरआमा भनौं न अब, बाघ, भालु, चितुवा, ब्वाँसा, स्याल हुँदा हुँदा कहिले त ढाडे बिरालाबाट लखेटाइमा परेर भागी भागी मर्थे रे ! अरू त तेस्तै हो चिथोर्ने, टोक्ने, लछार्ने गरेर मार्थे रे ! त्यसैले मृत्यु कति पीडादायी हुन्थ्यो होला ।अहिले त हामी कति भाग्यमानी । आनन्दको मृत्यु प्राप्त गर्छौं, हाम्रो सौभाग्य नि ! वास्तवमा मानिसको उत्पत्ति र विकास यो पृथ्वीको लागि बरदानै हो। ईश्वरले तिनलाई बुद्धि हालिदिएका छन् रे ! धेरै कुरा सम्झन सक्छन् रे ! धेरै कुरा अनुमान गर्न र नियन्त्रण गर्न सक्छन् रे ! अरूको दु:ख पिडा पनि बुझ्न सक्छन् रे।खै के के हो कुराहरू हुन्छ रे मानिसमा।हेर न मान्छेको माया। तिमी बिरामी हुँदा पनि के-के गर्छन्, ठिक पार्छन्। म बिरामी हुँदा पनि त्यस्तै गर्छन्, ठिक पार्छन्। कति मायाले समय समयमा खान दिन्छन् । पिटिहालेछन् भनेपनि फेरि माया पनि गर्छन् । अनि यस्ताका लागि मर्नु त सौभाग्य हो नि। अझ धेरैले त ईश्वरको नाममा बलि दिन्छन्, त्यो त झन् कस्तो अहोभाग्य है?

“तर देऊथानमै मर्न पाउने त तिमी जस्ता मात्र हो। अरू बेला बोका कमै मानिसले रोज्छन्, तर रोजाइमा परे भने प्राय: ईश्वरकै अगाडि मर्न पाउँछ्न् । त्यस्ताले त सोझै ईश्वर कहाँ प्रवेश पाउँछन् भन्छन् । हुन त मानिसका लागि मर्न पाउनु स्वर्गको ढोका खुल्नु हो रे ! ईश्वरका अगाडि मर्न पाइनँ भनेर पनि दुःखी भैहाल्नु पर्ने होइन । मानिसको भोजन बन्न पाउनु नै हाम्रो अहो भाग्य, किनभने, मानिस मात्र त्यस्तो प्राणी हो जसले सानै प्रयास मात्र गर्‍यो भने पनि यो पृथ्वीलाई नै स्वर्ग बनाइदिन सक्छ रे ! त्यस्ता महान् जीवका लागि मर्न पाउनु के सानो कुरा हो त ?”

“हो त नि ! रोएछ रे त्यो बाँसघरेको बोको त बलि दिन लाग्दा । अभागी भनेको त्यस्तैलाई हो । रोयो भरेर मान्छेले आफूजस्तै मान्यो होला, यसलाई काट्न हुन्न भनेर छाडिदिए छन् । अघिल्लो जन्ममा मान्छे रहेछ कि कुन्नी, मान्छेको धङ्धङी बाँकी भएर होला नि ! आफू के हो भन्ने नचिनेर अर्काको हंशले डोर्‍याइएर पनि हुन्छ त कहीँ ? त्यस्तै हो अब, त्यस्ताको के कुरा गर्नु ?”

खसी आफ्ना गनगन बोकालाई सुनाउँदै थियो परबाट निकै कोलाहल सुनियो।

“हैन, त्यता के को हल्ला खल्ला भएछ? धैरै नै मान्छे जम्मा भएजस्तो छ। रूवावासी पनि छ । गएर हेर त । मलाई त बाँधेका छन् । तिमीलाई त मोटो ज्यान लुसो छ, भाग्दैन भनेर बाँध्दा पनि बाँध्दैनन्। जाऊ त जाऊ !”

बोको घटनास्थल पुगेर कोलाहल बुझेर फर्केर आयो, कथा सुनायो। खसी फेरि बरबराउन थाल्यो- “हो र ? त्यही त म भन्छु किन तिम्रो अनुहार मलिन छ? हुन त मैले पनि दुई-चार दिन अगाडि देखेथेँ । त्यो मोटो चाईं भाइले “यसपालिको ठूलो खसी मेरा घराँ लगेर काट्ने हो” भन्दै थिए, पात्ला चाईंले “बढी कुरा नगर्, कसरी तँ लान्छस् हेरम्ला” भनेर कुटाकुट गर्लान् जस्तो त गर्दै थिए । दाजुभाइ भएर पनि के गरेको होला भनेर म छक्क त पर्दै थिएँ नि। काटी नै हालेछन् ? कठै मेरो टाउको छिनाल्ने आँगनमा मोटाको टाउको छिनाले? पात्ला पनि मरणासन्नै भएछन्? लौ म पनि अभागी नै रहेछु । अब मैले कसको हातबाट टाउको छिनालिपाउने हो, कैले पो हो? हरे प्रभु!”