श्रवणकुमार ढुंगाना

उपहार त उत्सव हुन्, तर
कतिपय उपहारहरू
उत्सव बनाउँदैनन्
हुँदैन कुनै वसन्ती याम र फूलको वर्षा
हुँदैन ग्रहणको कुनै आतुरता र हृदयको रस वर्षा
त्यो त दूषित हुन्छ
दम्भी शासकको कलुसित निगाह जस्तो
त्यो त तिरस्कृत हुन्छ
दोबाटोमा ग्रह कटाउन राखिएको द्रव्य जस्तो,
जब आउँछन्
भर्खरै नदीमा धकेल्नेहरू
अखबारमा श्रद्धाञ्जली छपाएर
जब आउँछन्
छोराका हत्याराहरू
आमालाई राहत ल्याएर
जब आउँछन्
दुष्ट अनुहारहरू
नाङ्गो मुस्कान भरेर
जब आउँछन्
प्रेमका बलात्कारीहरू
हातमा गुलाफ बोकेर।