
वर्षौं पछिसम्म पनि
श्री ३ को आत्मा
लेखिएको छ
हाकिम साहेबको नाममा
कार्यालयको ढोकामा ।
भित्र
चिनियाँ घुम्ने कुर्सीमा
विराजमान हाकिम साहेब
यो कुनै शताब्दियौं अघिदेखिको
सिंहासन भन्दा कम नलाग्दो हो !
त्यसैले त
घुम्ने कुर्सीमा कुनै कुनै कारिन्दो देखिहाल्नु परे
कटक्क खान्छ मन हाकिम साहेबको !
अनि यो संसारमा हाकिम साहेबहरूलाई
कसरी पचोस् झन्
कालो मानिसले सुवर्ण थालमा भात माग्ने कुरा ?
त्यहाँ देखिन्छन्
केही आफन्तरूको झुण्ड
हाकिम साहेबको
भारदारीसभा जस्तो बैठकमा
बडो अदबसाथ बसेका
जय जयकारको मुद्रामा !
त्यो मुद्रामा नृत्य गर्न नसके
उठ्छ
जोकसैका शालिन प्रश्नहरू विरुद्ध
कपटी संशयी नजर
र उसलाई घोषित गरिन्छ
यो व्यवस्थाकै खलपात्र ।
श्री ३ हाकिम साहेब ढुक्क छन्
उनको शासनभित्र
कि बफादार भारदारहरूमात्र छन्
जो उनका विरुद्ध औंला त के
उठाउन्नन् शिर पनि
कि बर्बरीक प्रजा छन्
जो उनका विरुद्ध गर्न सक्दैनन् युद्ध
देख्छन केवल चारैतिर उनकै सत्ता ।
यस्तो त्यो प्रेतात्मा
कहाँबाट उदायो कुन्नी
धुवाँबाट अलग्गिएर ?
जो बर्बरता र दासताको युगदेखि
रास्ट्र निर्माणका महानायकहरू
पूंजीवादका नायकहरू
साम्यवादका गायकहरू
श्री ३ का श्री ३ हरू
श्री ३ भाँचेर बचेका आँख्लाहरू
ती आँख्ला पनि उखेलेर रोपिएका कलमी शासकहरू
शासकका भारदार, सेवकहरूसम्म
प्रत्येकमा तिनका गच्छे अनुसार
भरिएको छ
बाँचेको छ
फैलिएको छ
उदांगिएको छ ।
अझै पनि देखिन्छ
त्यो बसेको छ बास
प्रजातन्त्रका हाकिमहरूमा
मानवअधिकारका हाकिमहरूमा
समानताका हाकिमहरूमा
सेतो दरबार, रातो दरबार, पहेँलो दरबार
त्यस्तै अनेकन दरबारहरूतिर
चप्पल लगाएर विरासत थाम्न पसेकाहरूमा
जो पसेपछि फर्कन्छन्
जंगी बूटमा
शाही कारगेटसँग
गोलीको भाषा बोल्दै
लालमोहरको दुरुपयोग गर्दै
अवैध फतवा जारी गर्न लाज नमान्ने बनेर ।
सयौं युद्धहरू लडिएको
बर्षौं पछिसम्म पनि
श्री ३ को आत्मा
लेखिएको छ
हाकिम साहेवको नाममा
कार्यालयको ढोकामा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









