श्रवणकुमार ढुंगाना

तिनै तरङ्गहरूको एउटा स्थिर संयोजन
एउटा ढुंगो
पहरामा माटोमाथि वा माटोमुनि
दबिएर वा उन्मुक्त
शान्त स्थिर
वा चर्कदै उफ्रँदै
प्रकृति भनिएको छ
मृत ठानिएको छ
पुजिएको छ
कुल्चिइएको छ
र अर्को
छौ तिमी
तिनै तरङ्गहरूको एउटा अस्थिर संयोजन !
जुन दिन तिमीलाई
निम्छरो एउटा कण
अनि सर्व ‘ज्ञ’ सम्मको
एउटै तरङ्गपुञ्जबाट आविर्भावित अनन्त प्रकृतिसँग
एकाकारको आनन्दको अनुभूति हुनेछ
तिम्रा हृदयास्पर्शले पुलकित
आलिङ्गनले सिँचित
धर्तीको आयु
र तिम्रो आयु
एक युग अझै बढ्नेछ
अहिले त
धर्तीका खुसी भनूँ वा धर्तिका आँसु
सुस्तरी
समुन्द्र नपुग्दै
आत्महत्या गर्दै
बालुवाको च्यादर मुनि टाउको लुकाइरहेछन् ।