
पानीको आकारमा
अलिकति खरानीले जमाएको अहम्
यस्तै त हो आकार जिन्दगीको !
समयको नवीनतासँगै
बदलिरहने यसको आकार
कहिले लोभको भाँडोमा भरिएर पोखिने
कहिले क्रोधको तावामा उम्लिएर पोखिने
यत्ति त हो चमत्कार जिन्दगीको !
त्यसो त
प्रेमको अँगालोमा पनि
बिस्तारै बिस्तारै
सुक्दै गएको पानीसँगै
चाउरिँदै गएको खरानी
यस्तै त हो संसार जिन्दगीको !
उड्दै गरेको पानी
खस्दै गरेको खरानी
आँखाभरी
र पग्लदै गरेको मन
लिएर फर्कँदै गरेको मलामी
यही त हो व्यापार जिन्दगीको ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










