शिवप्रसाद आज बिहानैदेखि मक्ख छ । हिजो तलब आएको छ। सबैको ऋण तथा उधारो तिरतार पारेर केही हजार दाम उब्रेको छ । आज बिदा पनि परेको छ । साँझमा छोरीको जन्मदिन मनाउने योजना छ । सोच्दै छ बच्चाहरूको खुसीको ख्याल राख्नु नै बाउ हुनुको कर्तव्य हो । आज त्यो कर्तव्य पूरा गर्ने सुरमा छ ऊ ।
दिनभरिका सारा कामहरू फत्ते पारेर साँझपख ऊ घरतिर लम्कँदै छ । उसलाई केक किनेर लानु छ । हतार छ । हतारै भए पनि एक कप रक्सी स्वाट्टै पारेर गइहाल्छु भनेर ऊ एउटा होटेलमा छिरेको छ । घर गएर पनि आज बेलुकी पिउनु नै छ, छोरीको जन्मदिन जो छ । यो सोचेर केही बेरपछि उसले फेरि दोस्रो कप मगाएको छ । दोस्रो कप सकिनै लाग्दा उसको एउटा साथी टुप्लुक्क आइपुगेको छ जसले उसलाई धेरै चोटि पिलाएको छ । आज ऊसँग दाम छ । उसको पिलाउने मौका जुरेको छ । अब ऊ नराम्ररी मातिसकेको छ । सोच्दै छ आ…बड्डे अर्को साल मनाउँदा पनि हुन्छ । अब त उसले गोजी पुरै रित्तो भइन्जेल पिएको छ ।
शिवप्रसाद मध्य राति हल्लिँदै धरमराउँदै कोठा आइपुगेको छ । ऊ पुरै टिल्ल छ ।
छिमेकीको घरबाट प्रस्ट सुनिँदै छ शिवप्रसादको चर्को आवाज, “केलाई मनाउन पर्यो बड्डे हँ..? न तेरो बाउले मनाको । न तेरो बाजेले मनाको । न यो हाम्रो कल्चर नै हो । के को बड्डे ? बड्डे न सड्डे ! खल्लीबल्ली ! ”
छोरी रोएको आवाज निकै बेरदेखि आई नै रहेको छ ।
हालत यस्तो छ कि शिवप्रसादले छोरीलाई पिट्न पनि बेर लाउने छैन ।
शिवप्रसादकी श्रीमती यो कथाकारतिर फर्केर भन्दै छे कि रक्सीले मात्तिएर कर्तव्य भुलेको यो उसको श्रीमानको बिसौँ पटक हो ।
अनि अत्यधिक पिउने पाठकहरूतिर फर्किएर सोध्दै छे कि, कर्तव्यच्युत हुने गरी किन पिउनु हुन्छ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 








