उसलाई देखेको पहिलो दिनमै म चुम्बकले तानेको फलामझैँ आकर्षित भएँ । माया एकतर्फी हुनै सक्दैन । सिर्जिता पनि अलिअलि आकर्षित नभएकी त कहाँ हो र ? मनलाई जबरजस्ती दबाउने असफल प्रयास मात्र गरेकी हो । सिर्जिता मामाघर बसेर एघारमा पढ्दै थिइन् । एक षोडषा नवयुवती । क्याडबरी ओठ, चञ्चला नयनी, एक सुन्दर सिर्जना ।

एकदिन बाटोमै मैले प्रेमको बाँध एक्कासि खोल्न थाले, “सिर्जू म म मम्……..।”

उसले भनी, “के मम् पुरै भन न ।”

उसको दमदार आवाजले मेरो मुटुमा महाभूकम्प ल्याइदियो । म वाणीकी देवी सरस्वतीको जन्मपूर्वको अवाक् स्थितिमा पुगेँ । हुन पनि कसैलाई चोखो माया गर्नु यति कठिन पल हो कि उसलाई भन्न मनमा महाभारत हुन्छ तर मुखमा भारत मात्र पनि आउँदैन । हो, मलाई त्यही रोगले ऐँठन गरायो । कक्र्याकुक्रुक्क पार्यो । शक्तिशाली गरुडका सामु परेको सर्पजस्तो भएँ । मेरो ओठमुख सुक्यो । जडवत् भएँ । यत्तिकैमा ऊ बाटो लागी ।

फेरि अर्काे दिन उसलाई धारामा भेटेको थिएँ । त्यहीँ जीवनको लालपुर्जा सहीछाप दिने वचन दिएँ । उसले जुक्ति लगाई, “कृष्ण मलाई म्याथ सिकाइदिन आउने गर न है ।”

यस दिनदेखि मलाई हिमाल, डाँडापाखा, वनपात, फूल सबै अलौकिक लाग्न थाले । ब्रह्माको सुन्दरतम सिर्जना ।

कल्पनाको अकाशमा मधुमालती बनेर उड्दै थिएँ, यत्तिकैमा सानी बहिनी रितुको आवाजले झस्केँ, “दादा सिल्जू दिदी त कहिल्यै नआउने गली घल दानुभो ले ।”

म शून्यमा बिलाएँ । यस दिनदेखि मेरो प्रेमकथा मृगतृष्णा बन्यो । प्रेम भन्नु त्यागमैे प्राप्ति हो भन्ने मलाई लाग्यो, किनकि भाग्यमानी पुरुषले मात्र पहिलो प्रेमीकालाई अन्तिम बनाउने सौभाग्य पाउँछ । त्यस दिनदेखि ऊ मेरी प्रे अनि म ।