
गधा
कारखाना मालिकले आफ्नो एक जना मजदुरलाई गाली गर्दे हकार्यो– ‘साला ! गधा । तेरो बुद्धि छैन ?’
ढाडमा भारी बोकिरहेको मजदुर मालिकको गाली नसकुन्जेल केही क्षण त्यही ठाउँमा मेसिनझैँ यन्त्रवत उभिइरह्यो ।
भारी बोकेर यही बाटो भएर आइरहेको एउटा गधाले पनि यो गाली सुन्यो । गधा टक्क अडियो । उसले मालिक र मजदुरको अनुहार हेर्यो ।
मालिक रवाफसाथ कराइरहेको थियो । मजदुर तर तर पसिना चुहाएर अर्को नयाँ आदेशको पर्खाइमा थियो ।
यो दृश्य देखेपछि गधालाई लाग्यो– ‘मैले जस्तै इमानदारीपूर्वक परिश्रम गर्ने मान्छेलाई आखिरमा गधा भनिँदो रहेछ ।
===
नयाँ साल
आज यो वर्षको अन्तिम दिन । पुरानो साल बिदा भएर नयाँ सालको आरम्भ हुँदै छ ।
अरू सालमा झैँ यो वर्ष पनि उसले भई–नभई केही रकम जुटायो । छोराछोरी, घरपरिवारसँग बसेर केही मसिनो मीठो खायो र सुत्ने बेला कामना गर्यो– ‘हे भगवान् ! नयाँ सालको नयाँ दिनबाट मेरो दुःख, पीडा हरण होस् । जीवनमा सुख र शान्ति छाओस् ।’
यसपछि दिनभरिको मजदुरीको थकाइले ऊ तुरुन्तै निद्रादेवीको काखमा पुग्यो ।
यो नयाँ साल भने उसको जीवनमा साँच्चिकै नयाँ भएर आयो । बाह्रै मास नाम्लोले थिचिरहेको उसको थाप्लो फुक्का भयो र भारीले फुर्सद नदिएको उसको आङमा घाम लाग्यो । आहा ! जडौरी लुगाले बेरिएको शरीरमा नयाँ नयाँ पहिरनले ढाक्यो । सधैँ भोकले रोइरहनु पर्ने छोराछोरीले टन्न खान पायो । यो खुसीको रौनकतामा उसले ढोल बाजा ल्यायो र छरछिमेकलाई देखाउन चर्को आवाजमा बजाउँदै नाच्न उफ्रन थाले ।
यही बेला उनी झसङ्ग ब्युँझियो । ब्युँझिदा सानो छोरो भोक लाग्यो भनेर चम्चाले थाल ठटाइ रहेको थियो । बल्ल आज बिहान उसले बुझ्यो– ‘साल बदलिएर केही हुँदो रहेनछ । जबसम्म राज्य बदलिँदैन ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

