टलक्क घाम लाग्यो।

धेरै दिन पछि आज घाम लागेकोले गाउँ पनि उज्यालो भयो। घामको तातो किरणले गाउँ नै न्यानो भयो। बर्खे झरीले वाक्क भएकी कुसुमले सिरक तोसक र भिजेको पुराना बोराहरू आँगनभरि फिँजाएर सुकाई।

“तिमीलाई घर भित्राएको दिन नै मैले यो रोपेको थिएँ ! आज हेर त यति ठुलो झ्याङ्गेर बोट भयो।”

जीवनले कुसुमलाई मायालु भाकामा यसो भन्यो अनि बाँसको चोया काट्न थाल्यो।

आँगनको डिलमा कलेजी रङको फुल्ने जवाकुसुमको बोट थियो। यो बोटको फूलले गाउँभरि पूजा गरिन्छ । गाउँको शिव मन्दिर, साई मन्दिर, देवीथान सबैतिर चढाइन्छ । गाउँमा मरेको लासमाथि पनि यही जवाकुसुम कै फूलको माला बनाइन्छ ।

सप्रेर होला फूल पनि ठुलठुला फुल्छन्। गाढा रङ पोतिएर होला मनमोहक देखिन्छ यो जवाकुसुमको फूल। यो बाह्रमासे फुलिरहन्छ। गाउँभरि रमाइलो छरिरहन्छ।

सप्ताह दिनसम्म लगातार परिरहेको पानीले खहरे खोल्सा पनि ढङढङ  बढेको छ।

केही क्षणपछि माथि देवीथानबाट धरती नै च्यातेर तलतिर रहेको सबै गाउँ सोहाेरेर लान्छ। सबै गाउँ पैह्रोको चपेटमा पर्छ ।

जीवनले कुसुमको नाममा रोपेको मायाको चिनो जवाकुसुमको यो बोटमा के को सत्य थियो !

पैह्रोको मध्य भागमा जस्ताको त्यस्तै देखिँदै थियो।