साँझ रङ्गीन थियो । कुनाबाट क्लब डिजेले हलमा बजिरहेका मधुर  गीत संगीतमा नियन्त्रण र व्यवस्थापन गरिरहेको थियो । हलमा भीडभाड थियो । मदिराका प्रकारहरू धेरै राखिएका थिए ।

“भाउजू नमस्कार !” भन्दै हातमा वाइनको गिलास समाइरहेकी उर्मिला भाउजूलाई ह्विस्कीको गिलास लिएको हातले अभिवादन गरेँ । मुसुक्क हाँसेर उर्मिला भाउजूले अभिवादन फर्काउनु भयो ।

“एक्लै आउनु भा हो र ?” मैले सोधेँ ।

“म एक्लै आएँ, यसपछि अर्को पार्टीमा पनि पुग्नु छ ।” उहाँले भन्नुभयो ।

“दुई वर्ष भएछ नि हाम्रो भेट नभएको ।” मेरो दोस्रो  पेगको असर हो कि कसो हो मलाई अन्य पार्टीमा जस्तै गफ लम्ब्याउन मन लाग्यो । दुई वर्षअघि राजेशदाइको जन्मदिनको पार्टीमा उर्मिला भाउजूले घरमा नै पार्टी राख्नुभएको थियो । म अरू केही बोल्न खोज्दै थिएँ उहाँका साथीहरू आएर भाउजूको ध्यान उनीहरू तर्फ गयो ।  म त्यहाँबाट अर्को टेबल तर्फ लागेँ । पल्लो टेबलमा अन्य साथीहरूसँग राजेश दाइ मज्जाले गफ गर्दै रमाइरहेका थिए । उनको गफमा मलाई अवरोध गर्न मन लागेन । गिलास रित्तिएको निहुँमा म त्यहाँबाट निस्केर म बारतर्फ लाग्दै थिएँ, भाउजूसँग पुनः  भेट भयो ।

“दाइ पनि आउनु भएको रहेछ त ,” मैले भनें ।

“कहाँ हुनु  ऊ भ्यालीभित्र नै छैनन् ।” भन्दै अर्को वाइनको गिलास उठाउनु भयो ।

“परको टेबलमा देखिरा थिएँ ।” भन्दै मैले दुई टुक्रा आइस क्यूब गिलासमा राखेँ ।

मलाई राम्रोसँग थाहा थियो, मैले मान्छे नचिन्ने गरी मदिराको असर परेको थिएन ममा ।

“ए बाबुले नरेशलाई देख्नुभयो होला, ऊसँगको केस त  पाँच महिना अगाडि टुङ्गियो नि ।” उहाँले स्पष्ट पार्नुभयो ।

“हैन हैन , मैले त राजेशदाइलाई नै हो भेटेको !” मैले जोड दिँदै भनें  ।

उहाँले मदिराको  एउटा ठूलो घुट्की लगाउनु भयो र भन्नुभयो, “ऊसँग त मेरो डेढ वर्ष अगाडि नै डिभोर्स भइसकेको हो नि । ”