“नमस्कार ! चिन्नुभयो हजुरले ?” उसले मतिर हेर्दै मुस्कुरायो ।

कतै देख्या जस्तो पनि लाग्यो ठम्याउन सकिन; म दोधारमा परेँ । “खै भाइ ! मैले ठम्याउन सकिन को हुनुहुन्छ ?” मैले उनलाई सोधेँ ।

“कृपया अलि दिमागमा जोड लगाउनोस् न । प्राइमरी स्कुल पढ्दाको दिन सम्झौँ त, एक पटक ।” उनले भने ।

“बोली स्वभावबाट त केशव जस्तै लाग्नुहुन्छ । तर ठ्याक्कै भन्न सकिन ।” मैले खुट्टाबाट टाउका सम्म हेर्दै भनेँ ।

“ठ्याक्कै पार्नुभयो । हजुरहरूले स्कुलमा ब्याङ्ग्रे/ब्याङ्ग्रे भनेर खिजाउनु हुन्थ्यो नि । म त्यही केशव त हुँ ।” उनले प्याच्च भने‍ । ।

त्यो बेला खोच्याएर हिँड्ने र एउटा हात बाङ्गो थियो । तर अहिले उनी सपाङ्ग कसरी भए मैले मनैमन सोचेँ ।

“के सोच्दै हुनुहुन्छ ?”  उनले सटिकमा भने ।

“हजुरलाई नदेखेकै धेरै वर्ष भयो कहाँ हुनुहुन्थ्यो यत्रो दिन ?” मैले प्रसङ्ग बदल्दै भने ।

“म अलि वर्ष लेक्चरर भएँ । त्यसपछि अमेरिका पुगेर आफ्नो स्वास्थ्य जँचाएँ । र सर्जरी भयो । त्यसपछि उतै थाई बसोबास  गर्दै आएको छु । अब यतै व्यवस्था मिलाउनु परेको छ ।” केशवले जानकारी गराए ।

म त्यो बाल्यकालको उनीप्रति आफूले गरेको व्यवहारबाट सर्मिन्दा हुन पुगेंँ ।