राधा बाटोको छेउमा बसेर रोइरहेकी थिइन् । उनको रुवाइ सुनेर मानिसहरू झुम्मिएका थिए । उनका पति र सासू घरको आँगनमा उभिएर के के फलाकिरहेका थिए । वरिपरिका छिमेकीहरूसँग गुहार मागेर उनी घरतिर लागिन् । अब उनको घरको आँगनमा छिमेकीहरू जम्मा भए ।

तपाईँहरू कसले बोलाएर मेरो घरमा आउनु भएको ? जानुस् सबै जना ! ” सासूले छिमेकीहरूलाई खाउँला झैँ गरेर आँखा तरिन्  ।

“बुहारीलाई यसरी यातना दिन पाइन्छ ? बुहारी पनि छोरी जस्तै होइनन्  ? मान्छे त आमा छोरा नै पढे लेखेको हुनुहुन्छ त !” छेउमा उभिएका रामप्रसादले राधाका पक्षमा पैरवी गरे ।

“यसलाई अब यो घरमा एक दुई तीन बस्नै दिन्न । यो अफिसमा गएर के के गरेर आउँछे । मलाई थाहा छैन ? जागिर गर्न जानु त यसको बहाना मात्रै हो ! ” सासू कुर्लिरहेकी थिइन् । राधाको पति अजय पनि आमाकै पक्षमा ढल्किएको थियो ।

“मैले कुनै गल्ती गरेकी छैन । पहिले अप्सरा जस्ती बुहारी भने । अहिले मेरा माइती गरिब रे ! स्तर मिलेन रे ! मलाई अंश दिलाई दिनुहोस् ! म यी क्रूर सासू र बेकामे पतिसँग जीवन बिताउन सक्दिन । मलाई यिनीहरूले जिउँदै मार्नेछन् !” उनको आँसु थामिएको थिएन ।

यत्तिकैमा सासूले उनको कपाल लुछेर उनलाई भुइँमा पछारिन् । पति अजय पनि श्रीमती विरुद्ध खनियो ! छिमेकीहरूले प्रहरी बोलाए !

प्रहरीले राधाको कुरा सुनेर दुवै पक्षलाई छलफलका लागि नगरपालिकामा लैजान खोज्यो !

सासूको अनुहारमा भने अझै क्रोधको आगो बल्दै थियो, “ नगरपालिकामा जाँदा मेरो इज्जत जाँदैन ? म नारी उत्थान केन्द्रकी अध्यक्ष हुँ ! ”