जसले आफ्नो आमालाई सम्मान गर्छ । उसले संसारका हरेक नारीलाई सम्मान गर्छ ।

म बिहान उठेर नित्यकर्म सक्काएर दुई घण्टा पढ्थेँ । अनि हतार हतार खाना खाएर स्कुल जान घरबाट निस्कन्थेँ । घरदेखि स्कुल पुग्न म्याजिक चढेर जानु पर्थ्यो । चोकमा ढिला पुग्यो भने बस्नलाई सिट नै पाइँदैन थियो । सिट पाए पनि साँघुरो,  खाँदिएर बस्नु पर्ने हुन्थ्यो । केटीहरूसँग बस्दा त त्यस्तो केही लाग्दैन थियो । तर केटाहरूसँग बस्नु पर्यो भने मेरो सातो जान्थ्यो । कोही केटाहरू त अलि सहज भएर बस्थे । तर कोही भने मौकाको फाइदा उठाउँदै मेरो शरीरमा टाँसिन आउँथे । मलाई भरङ्ग रिँगटा चल्थ्यो । एकदम नराम्रो महसुस हुन्थ्यो । किन छोरी भएर जन्मेछु लाग्थ्यो ।

किन छोरी भएर जन्मेँ यो समाजमा ?

किन पापीहरू मैसँग टाँसिन आउँछन् ?

सबै नारीहरू आफ्ना आमा , दिदीबहिनी जस्तै हुन् भनेर किन सोच्दैन ती पापीहरू ?

दिनभर मनमा यस्तै यस्तै कुरा खेलिरहेका हुन्थे । राती सुत्दा पनि यस्तै कुरा सोच्थे । मेरो मस्तिष्क मा डरले रामै सङ्ग जरा गाडेर बसेको थियो ।भोली पनि यस्तै त हुने होला नि । फेरी कुन पापीको सिकार बन्नु  पर्ने हो । अर्को दिन घटने सम्भावित घटना सम्झेर अबेर सम्म निद्रा लाग्दैन थियो ।

भोली पल्ट पनि त्यस्तै हुन्थ्यो । जुन कुराले मेरो मनमा डरको बीउ रोपेको थियो । त्यो मैले दिनदिनै भोगिरहेकी थिए । म दिन दिनै लुटिए जस्तो लाग्थ्यो । मेरो खुसी को कसैले हत्या गरे जस्तो लाग्थ्यो । म लुटिँदै गए । दिनदिनै मेरो मनस्थिति बिग्रँदै गयो ।

तर जे जस्तो भए पनि आफूलाई परेको समस्या कहिल्यै घरमा भनिन् । बरु मनमनै कुरा लुकाएर बसिरहे । मेरो दुःख सुनाएर बाबा ममीको मन दुखाउनु चाहिन । बरु आफ्नै मन दुखाइरहे । बरु आफ्नै मन जलाइरहे । यसरी नै मेरो एक वर्ष बित्यो । मनमा डर कहिल्यै हटेन । पछि मैले त्यो स्कुल छोडेर घर नजिकैको स्कुल पढ्न थाले ।

अझै पनि कुनै पुरुषसँग बसेर यात्रा गर्नु पर्यो भने त्यो नमिठो अतीतले झस्काइरहन्छ ।