गोविन्दराजलाई नातिनातिना खेलाउने एकदमै रहर थियो । त्यसैले उनले एक मात्र छोरा हरिकृष्णको १८ वर्षैमा बिहे गरिदिए तर उनको २३ वर्षसम्म पनि जायजन्म भएन । उनीहरू डाक्टरकहाँ गए, धामीझाँक्रीलाई देखाए, पूजा लगाए, हर उपाय गरे तर कुनै पनि प्रगति भएन ।

हरिकृष्ण व्यापारका लागि सहर पसे । बुहारीलाई पनि उतै पठाइयो । वर्ष दिन बित्यो । तर पनि सन्तान भएन । घरमा खुसीयाली हराउन थाल्यो । परिवारमा पनि गुनासा सुनिन थाले । हरेक दसैंमा दिइने आशिष पनि गोविन्दराजलाई व्यर्थ लाग्न थाल्यो । बुहारीप्रति पनि दृष्टि बदलिन थाल्यो ।

सासूले अति भएपछि मुखै फोरिन्, ‘बुहारी ! ५ वर्ष कुरिसकियो, मान्छेहरूले कुरा काट्न थालिसके । अब त तिमीले छोरालाई सन्तानका लागि बाटो खोलिदिनु पर्छ…।’

बुहारीले भनिन्, ‘सन्तान नै हेर्ने हो भने उदार भएर सोच्नुस्, अनि तपैंका छोरालाई पनि अनुमति दिन भन्नुस् सन्तानको रहर त मेटिइहाल्छ नि ।’