
धेरै दिनपछि नीताले आज दिउँसो फेरि मीठो परिकार बनाउन शुरू गरिन् । टिकटकमा सामग्रीहरूको सूची हेर्दै, सबै तयारी गरेपछि, पकाउनुअघि एकछिन् बैठकको सोफामा गएर खुइय्य गर्दै बासिन् उनी !
“आ SS मेहनत गरेर पनि के गर्नु, आएर कुपुकुपु खाने त हुन् ! होइन, यो के नयाँ कुरा खान पाइयो भनेर खुशी हुने होइनन् ! आहा कति मीठो भनेर प्रशंसा गरे त मर्नु !”
बेलाबेला नयाँनयाँ, मीठोमीठो परिकार बनाउनु नीताको सोखको विषय थियो । दुई वर्षअघि विवाह भए यता त्यो सोखभित्र परिकार मात्रै थिएन, त्यसभित्र एक मीठो कल्पना पनि थियो- श्रीमानले घरमा के मगमग बास्ना आयो भन्दै भान्सामा गएर यताउता खोज्दै गरेको कल्पना, अनि आहा यस्तो पो बनाइछ्यौ भनेर खुशी हुँदै उफ्रिएको कल्पना !
तर त्यो कल्पना कहिल्यै साकार नभएको अवस्थामा नीतालाई हिजोआज मीठो पकाउने जाँगर मर्दै गएको थियो ।
“के थाहा, आज चाहिं मीठो गन्धले तान्ने हो कि !” नीतामा फेरि आशा पलायो । सुनिल अफिसबाट आइपुग्नु अगाडि नै उनले बडो महेनतले मीठोमीठो समोसा र छोला तयार पारेर भान्साको कुनामा लुकाइन् ।
आखिरीमा, सुनिल आए र प्रसन्न भई सोफामा बसे । अनुहारको चमक हेर्दा पक्कै पनि मीठो गन्ध उनले थाहा पाइसकेको जस्तो लाग्यो नीतालाई । उनी त्यसबारे केही बोल्छन् भन्ने आशामा नीता अरू नै काममा व्यस्त भए जस्तो गरेर आलटाल गर्न थालिन् ।
“खै, केही खाजा-साजा छ भने खाऊँ न हौ ! आज झटपट खाएर हिंडिहाल्नु पर्नेछ !” सुनिलले मोबाइल हेर्दै भने ।
“यो मान्छेको न नाकले काम गर्छ, न मनले !” भन्ने सोच्दै दिक्दार भएर नीताले, “लु खानुस्” भन्दै प्लेटमा समोसा र छोला ल्याएर टेबुलमा ट्याँस्स राखिदिइन् ।
सुनिल चूपचाप समोसा खान थाले । एकोहोरो टेबुल परतिरको शून्यतामा हेरेर टोलाउँदै उनी मनमनै भन्दै थिए, “यसो, म आउने बित्तिकै, मैले नमागी चट्ट ल्याएर दिनू ! मुसुक्क हाँस्नू ! लुगा पनि अलि राम्रो चटक्क पारेर लाउनू ! त्यत्रो विधि नयाँ लुगा र क्रिम-पाउडर किनेको छ ! तर, लाउने चाहिं बजार र पार्टीमा अरूलाई देखाउनको लागि मात्रै ! मेरो अगाडि त सधैं त्यही एउटै रातो म्याक्सी ! त्यो पनि खुइलिसकेको छ ! अनुहार हेर्दा मुख नधोए जस्तो देखिन्छ !”
नीताले एक गिलास पानी पनि ल्याएर टेबुलमा राखिदिइन् र झन्डै झन्डै हप्काएको जस्तो स्वरले भनिन्, “ल पानी !” अनि, मनमनले भनिन्, “खानेकुरा कस्तो लाग्यो भनेर पनि के सोध्नु ! मीठो लागे त आफैं पो तारिफ गर्नु पर्छ त ! जिब्रो पनि भगवानले बनाइदिएकै रहेछन् ! हेर न, गाई भैंसीले घाँस खाए जस्तो !”
सुनिलले उनीतिर पुलुक्क हेर्दै मनमनमा भने “अनि, मलाई खाजा दिन निहुरिनु पर्ने बेलामा पनि छातीमा त्यो शल चाहिं किन झुन्ड्याइरहनु परेको होला ! जति भने पनि लाग्दैन !”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

