मध्यरातमा एक्कासि मेरो छोरो अतासिंदै बिउँझिएर मसँग टासिँदै भन्यो –“बुबा, मलाई बचाउनुहोस्, मलाई बचाउनुहोस्  ।’’

छोरो डराएको देखेर मैले भनें, “बाबु किन डराएको, के भो तिमीलाई ?’’

छोरोले रुन्चे स्वरमा भन्न थाल्यो – “बुबा म पर शीतले चौरमा खेल्दै थिएँ । एक्कासि मानिसको चर्को आवाज सुनियो । फर्केर हेर्दा मैला लुगा र नाङ्गा खुट्टामा हिंडेका ख्याउटे मानिसका हूल देखेँ । एकै छिनमा ती हूल आत्तिएर चारैतिर भाग्न थाले । हेर्दाहेर्दै धुवाँले अन्धकार भयो । सास फेर्न, गाह्रो भइसकेको थियो । कोही लडे, कोही दौडँदै थिए । म दौडन नसकी निस्सासिएर जमीनमा पछारिएँ र बेहोस भए ।”

मैले अँगालोमा लिँदै भनें, “बाबु ! तिमी सपनासँग पनि डराउने हो त ! शायद यो सपना तिमीले यथार्थमै भोग्नु पर्नेर्छ । जब एकातिर, दुई शक्तिमा होड चल्नेछ भने अर्कातिर करोडौं जनता खान नपाई यताउता भौंतारिने छन् । त्यस बखत तिमी आफ्नो स्थानमा पनि शान्तिले बस्न पाउने छैनौ । तिमीले पनि भोकभोकै अणु बमको धुवाँ खाएर सदाको लागि अघाउनु पर्नेछ । कि त, अणुबम जस्ता शक्ति निस्क्रिय गर्ने साधन तयार पारी ती भोकले भौंतारिएका जनताको लागि नयाँ युगको थालनी गर्नु पर्नेछ ।’’

रात धेरै छिप्पिसकेको थियो । हेर्दा छोरामा एउटा अनौठो शक्ति सिञ्चित भएझैँ प्रतीत हुन्थ्यो ।

उसका चकिला आँखाले भनिरहेका थिए, “बुबा, म भोलिको सूर्योदयसँगै तेस्रो विश्वतिर लाग्नेछु ।’’

 

(काभ्रे जिल्ला व्यापी लघुकथा प्रतियोगितामा दोस्रो स्थान प्राप्त –आयोजक जनसेवी युवा क्लब, बनेपा २०४३ )