अक्करे भीरमा ढुङ्गाका खातैखात देखिन्थे । ती खातका बीचबीचमा तेर्सा धाँजा फाटेजस्ता च्यापहरू थिए । जङ्गलका बीचबीचमा निकै थिए यस्ता भिरहरू । अधिकांश जङ्गल भने पात्ले र ढाल्ने कटुसका रुखहरूले भरिभराउ थिए । कटुस पाक्ने मौसममा सारै धेरै कोकलेहरू आउँथे जङ्गलमा । ती कोकलेहरूले भिरका च्यापच्यापमा कटुस भेला गरेर राख्थे । उसले जम्मा गरेका कटुस सारै मिठा र भरिला हुन्थे । हामी गोठालाहरू अक्कर चढ्न नसके पनि छेउछाउका च्यापहरूसम्म लहरामा झुण्डिएर पुग्थ्यौँ र कोकलेले जम्मा गरेका कटुसहरू चोरेर खान्थ्यौँ ।
कति कोकलेहरू त आफूले जतन गरी राखेका कटुस खान पनि आउँदैनथे ।
“नआउनेहरूले निशाना बिर्सेका हुन्,” भन्थे पाका गोठालाहरू ।
“बादलको निशाना लगाउनेहरू आइपुग्दैनन्,” पनि भन्थे ।
छक्क परेर सोध्थ्यौँ हामी “कसरी हुन्छ त्यस्तो ?”
उनीहरू भन्थे, “कोकलेले कुनै बस्तुको निशाना हेरेर मात्रै त्यस्तो आकृतिको मुनि, माथि, दायाँ, बायाँ पारेर खाद्यान्न सञ्चित गर्ने गर्छ । फर्केर आउँदा पहिले आफ्नो दिमागमा जडान भएको निशाना हेर्छ रे । निशाना सही सलामत पाएपछि आफ्नो सङ्कलित खाद्यान्न यही हो भन्ने ठोकुवा गरी उपभोग गर्छ रे । आकाशमा बादलको कुनै आकृति हेरेर त्यसको सिधा मुनि वा यति दायाँ बायाँ छ भनी निशाना लगाउनेहरू फर्केर फेरि आउँदा त्यो बादल त्यहाँ नहुने वा आकृति परिवर्तन भइसकेको हुनेहुँदा ऊ त्यो बादलको आकृति खोज्दै अन्यत्रै पुग्छ रे । फर्केर त्यो ठाउँमा कहिल्यै आइपुग्दैन रे ।”
पाकाहरूका यस्ता कुरा सुनेर छक्क पर्थ्यौं हामी । बादलले त्यसरी धोका दिएपछि भौंतारिएर सारा अक्करहरू घुमिहिंड्ने कोकलेको मायाले सारै सताउँथ्यो हामीलाई ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 








