हातमा दुई मुठा धानको बीउ बोकेर धावा-धावा उकालो कुद्दै छन् गैह्राघरे ठुल्दाइ  । गोठमा गाईवस्तुलाई घाँस हाल्दै गरेको जिवे छक्क पर्दै सोध्यो, “रोपाइँ सकियो त ठुल्दाइ ! हातमा बीउ बोकेर हतार-हतार कहाँसम्मको रफ्तार ?”

“आज माथि कार्यक्रम छ रे ! बिहानै माथि बाटाघरे काकाले फोन गर्नुभाथ्यो ।” बोल्दै-बोल्दै २/४ डिल काटिहाले ठुल्दाइले ।

जिवे तीन छक्क पर्दै मनमनै बोल्यो, “कार्यक्रम त अस्ति १५ गते सकियो । फेरि के कार्यक्रम भन्छन् दाइले ? बुझ्नु त पर्यो के रैछ ?” बलेँसीमा थापिराखेको थोत्रे ड्रमको पानीले हात-खुट्टा पखाल्दै ठुल्दाइको पछि-पछि उकालिन्छ जिवे पनि ।

गाडी कुद्ने बाटोमा पुग्नुअघि नै जिवेले थुप्रै मान्छेहरूको खल्याङमल्याङ आवाज सुन्छ । बाटोमा पुगेपछि ऊ छक्क पर्छ । घुँडा-घुँडासम्म हिलोमा पल्ला गाउँका हर्क काकाको गम्बुठ लाका खुट्टा पसेछन् । कसो-कसो गरेर खुट्टो निकाले तर गम्बुठ हिलोमै गायब । हर्क काका हातै डुबाएर गम्बुठ खोज्दै छन् । यो देखेर जिवे बरबराउँछ, “हेर त हाम्रो गाउँमा गाडी कुद्ने बाटोको हरिबिजोक ! हिउँदमा धुलाम्मे अनि बर्खामा हिलाम्मे !”

त्यतिकैमा पछाडिदेखि आवाज आउँछ, “काका जुत्ता एक छिनमा खोजौँला, पहिले धान रोपौँ ।” ३/४ जना महिलाहरू र केही पुरुषहरू अगि गैह्राघरे ठुल्दाइले ल्याएको बीउ छुपुछुपु रोप्दै छन् ।

जुत्ता-सुत्ता त्यहीँ छोडेर उँधोतिर फर्किंदै बिरक्तिएर हर्क काका व्यथा मिसिएको रिस पोख्दै छन्, “अस्ति असार पन्ध्रमा नेता जति खेतमा रोपाइँ गर्ने हामी जनता रमिते, अहिले हामी जनता जति बाटोमा रोपाइँ गर्ने नेता रमिते !”