मसँग सँगै क्याम्पस पढेको बलराम, महानगरमा मात्रै तिन तलाको घर र दुइटा घडेरी, मधेसतिर पनि कति रोपनी हो कुन्नि जग्गा जोडेको छ भन्ने सुनेको थिएँ । लगभग दुई दसकपहिले गाउँबाट रित्तो हात क्याम्पस पढ्न झरेको मान्छेले यति छिटै यत्रो प्रगति गर्नु चानचुने कुरा थिएन । आइए पढ्दा नगर बस चढ्न नसकेर लुखुरलुखुर सडकमा हिँड्ने मान्छे अहिले रातो प्लेटको गाडी चढ्न थालेको थियो । विद्वान्, बुद्धिजीवीहरुको भेलामा जान्थ्यो । आफूलाई अब्बल दर्जाको लेखक ठान्थ्यो र कनिकुथी केही लेखिटोपल्ने पनि गर्थ्यो ।

बेला बेलाको भेटमा उसले मलाई भन्थ्यो, ‘जागिर खाएर र साहित्य लेखेर मात्रै घरव्यवहार चल्दैन साथी ! साइडमा अर्को कुनै काम त गर्नै पर्छ ।’

जाडो समय, बिच बजारमा भेट भयो । उसले मलाई नजिकैको क्याफेमा लग्यो र दुई कप कफीको अर्डर गर्यो । कफी पिउनै लाग्दा अचानक मेरा अर्का मित्र सुदर्शन आइपुगे ।

‘अहो ! तपाईंपनि यस्ता फटाहा दलालसँग !’ मसँग हात मिलाउँदै रिसाएर सुदर्शनले बलरामको अनुहारतिर घृणा ओकले ।

मैले बलरामजी सरकारी क्याम्पसका प्राध्यापक, लेखक र मेरो पुरानो मित्र भएको कुरा गर्दै सुदर्शनलाई सम्झाउने प्रयत्न गरेँ । तर सुदर्शन मेरो कुरै नसुनी उल्टै रिसको पारो चढाउँदै फत्फताइरहे, ‘थुक्क कुकुर ! ऐलानी जग्गामा फसाएर मेरो लाखौँ रुपैयाँ लुट्ने लुटेरा हैनस् तँ ! वाह ! यस्ता दलाल पनि प्राध्यापक, लेखक रे अझ… !’

कफीको दुई घुट्को पनि लिन पाएको थिइन, उठेँ र बलरामलाई पनि उठाएँ । काउन्टरमा गएर पैसा तिरेँ । हतार हतार सडकमा झरेर बलरामले गाडी स्टार्ट गरेपछि म पनि लुखुरलुखुर आफ्नो डेरातिर लागेँ ।