सबै रूख चढी न्यानो घामको पार ताप्दै बैठक सुरु भयो । सभापतिले सबैलाई बैठकमा स्वागत गर्दै प्रश्न राखे, “आजको बैठकको मुख्य एजेण्डा भनेको हामीलाई खानेकुराको अभाव हुँदै गएको छ, अब त्यसको समाधान कसरी गर्ने होला ? सबैले पालैपालो आफ्नो धारणा राख्नुहोला ।”

सभापति ढेडु बाँदरको कुरा सुनेर पाङ्ग्रे बाँदरले आफ्नो जिज्ञासा राख्यो, “हो हामीलाई अब बाँच्नै गारो हुने भयो, अहिले आधा पेट खाएर बाँच्नु परिरहेको छ । पहिले पहिले हाम्रा हजुरबाको पालामा खाएरै नसकिने फलफूल जङ्गलभरि पाइन्थ्यो रे !”

खैरे बाँदरले उपाय निकाल्यो, “यी मान्छेहरूले केही नफल्ने बिरुवा भन्दा थरिथरिका फलफूलका बिरुवा वृक्षारोपण गरेको भए कति राम्रो हुन्थ्यो, हामीले पनि अघाउन्जेल खान पाउँथ्यौँ, उनीहरूले पनि खान पाउँथे ।”

उसले अगाडी थप्यो, “त्यसो होइन अब हामीले मान्छेका घरघरमा गएर उनीहरूका खानेकुरा खोसेर भए पनि खानुपर्छ ।”

ढेडुले जवाफ फर्कायो, “खान्छौ ? उता मान्छेले हामी बस्ती नजिक आएको चाल पाएर जङ्गलका सबै रूख काट्ने निर्णय गरिसके !”

फिस्टे बाँदरले रूखको हाँगो हल्लाउँदै अचम्म मानेर  प्रश्न गर्यो, “हैन, बाँदर हामी हौँ कि तिनीहरू ?”