श्रीकृष्ण शर्मा

राम द्विविधामा पऱ्यो, “आखिर ईश्वर हुन्छन् कि हुँदैनन् ? जान्नै नसकिने । छन् भनौँ भने शिवलाई कसले देख्यो ? छैनन् भनौँ भने यो सृष्टि धानेको कसले छ त ?”

उसलाई विचारको हुन्डरीले उडाएरै छाड्यो । मन्दिर जाँदै गर्दा बाटामा पण्डित श्रीकृष्ण भेटिए । उनलाई गाउँमा सबैले बानारसी पण्डित भन्थे । रुद्री, वेद, गीता, भागवत खररर पढ्छन् भन्थे । उसले सोच्यो पक्कै पनि उहाँलाई थाहा हुनुपर्छ ।

यथोचित शिष्टाचारपछि उनीहरूको वार्तालाप सुरु भो । रामले भन्यो, “गुरु मेरो यौटा खसखस मेटाइदिनुपऱ्यो ।” “भन्नुस् न, म प्रयास गरुँला ।” श्रीकृष्णले शीतलता छर्के ।

उसले अधर्मको विष वमन गऱ्यो, “जिन्दगी ईश्वरकै पूजाआजामा बिताएँ । जपतप तन्त्रमन्त्र आदि आदि । यौटा कुरा नि पण्डितजी । आखिर ईश्वर नै छन् छैनन् जस्तो पो लाग्छ अचेल त ? मेरो चित्त स्थिर गराइदिन पऱ्यो ।”
यत्तिकैमा उताबाट एउटा मोटरसाइकल अनियन्त्रित गतिमा आँखा नै नहेरी आइहाल्यो । ती दुवैले हेर्दाहेर्दै बिजुलीको पोलमा झ्वाम्म ठोकियो । मान्छे कुनै साउथ इन्डियाको फिलिममा जसरी भुईँमा पछारियो । उसको नाकमुखबाट रगतको भल बग्न थाल्यो । बाइक नाच्दै नालीमा मुन्टो जोत्न पुग्यो । उनीहरूको सास एकैछिन रोकिएजस्तो भो । के गर्ने के नगर्ने दोधारमा परे । उनीहरूका हात खुट्टा लकडिए । हेर्दाहेर्दै त्यहाँ भिड बढ्न थाल्यो । भिडको भुँडी च्यातेर उनीहरू ढाडबाट बाहिर निस्के ।

यत्तिकैमा लामो सास फेर्दै रामले जिन्दगीको नयाँ परेली खोल्यो, “ धन्य ईश्वर ! इतितिले गर्दा बाँचियो । धन्नै ज्यान गएन । केटाकेटीलाइै सानैमा टुहुरो हुनबाट जोगायौ ।”
यही महिम मौकामा पण्डित श्रीकृष्णले तीर हाने, “महोदय ! अब पनि मैले तपाईँलाई ईश्वरको प्रमाणपत्र पेस गर्नुपार्ला र ?” यति भनेर उनी लामा पाइला चाल्दै सरासर गए । रामले मूर्तिवत् उनलाई ईश्वरको रूपमा अर्धचेत भएर विपरीत नेत्रले नियालिरहन मात्र सक्यो ।

पोखरा