असम । असम नेपाली साहित्य सभा केन्द्रीय समिति, विश्वनाथ जिल्ला समितिको संयुक्त आयोजना तथा विश्वनाथ महाविद्यालयको सहयोगमा संस्कृतिलाई केन्द्रमा राखेर एक दिवसीय राष्ट्रिय सङ्गोष्ठी सम्पन्न भएको छ ।
जुन ७ मा विश्वनाथ महाविद्यालयको सभाकक्षमा आयोजित सङ्गोष्ठीमा उद्घाटन र समापन सत्रबाहेक चारवटा प्राविधिक सत्र सञ्चालन गरिएको थियो । कार्यक्रममा १५ जना गवेषकले संस्कृतिका विभिन्न पक्षमाथि अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।
कलाश्री विनोद खनालद्वारा दीप प्रज्ज्वलनपछि शुरू भएको उद्घाटन सत्र असम नेपाली साहित्य सभाका महासचिव तिलक शर्माले सञ्चालन गर्नुभएको थियो । सत्रको अध्यक्षता असम नेपाली साहित्य सभाका सभापति तथा विश्वनाथ महाविद्यालयका अध्यक्ष डा. चिन्तामणि शर्माले गर्नुभएको थियो भने सिक्किम केन्द्रीय विश्वविद्यालयका प्राध्यापक डा. देवचन्द्र सुब्बाले उद्घाटन गर्दै बीजभाषण प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्षीय मन्तव्यका क्रममा डा. चिन्तामणि शर्माले असम नेपाली साहित्य सभाको इतिहास र गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
सङ्गोष्ठीको पहिलो सत्रमा उत्तर बङ्ग विश्वविद्यालयका प्राध्यापक डा. कृष्णराज घतानी अध्यक्ष तथा हरि लुइटेल अग्रणी वक्ताका रूपमा सहभागी हुनुभएको थियो । दोस्रो सत्रमा लीला निरौला अध्यक्ष र डा. खेमराज नेपाल अग्रणी वक्ता रहनुभएको थियो । तेस्रो सत्रमा हेमकुमार गौतम अध्यक्ष तथा मदन थापा अग्रणी वक्ता हुनुहुन्थ्यो भने चौथो सत्रमा उदयनारायण गौतम अध्यक्ष र डा. इन्दुप्रभा देवी अग्रणी वक्ताका रूपमा सहभागी हुनुभएको थियो ।
समापन सत्रमा कार्यपत्र प्रस्तुत गर्ने सबै गवेषकलाई प्रमाणपत्र र स्मारक चिह्न प्रदान गरिएको थियो । सङ्गोष्ठीका संयोजक तथा सञ्चालक डा. सञ्जीव उपाध्याय रहनुभएको थियो भने अनेसास विश्वनाथ जिल्ला समितिका सभापति लीला तिम्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका अवसरमा भागवतप्रसाद उपाध्यायको छन्दोबद्ध कविता सङ्ग्रह ‘मनको फूलबारी’ को पनि लोकार्पण गरिएको थियो ।
आयोजकका अनुसार सङ्गोष्ठीमा प्रस्तुत कार्यपत्रहरूको सङ्कलन शीघ्र प्रकाशन गरिनेछ । संस्कृतिमाथि केन्द्रित यस राष्ट्रिय सङ्गोष्ठीले समाजमा सांस्कृतिक चेतना विस्तार गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
महासचिव तिलक शर्माले आगामी जुन १४ मा असमको मार्घेरिटामा लोकनृत्य कार्यशालाको समापन कार्यक्रम आयोजना गरिने जानकारी पनि दिनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 





