साँझपख घुम्न निस्किँदा एउटा वृद्ध व्यक्ति भेटिने गर्थे । परिचय भयो । दुवै थरीले एक अर्कालाई सम्मान गर्ने गरेका थियौँ ।

उनी हामीबाट निकै प्रभावित भएका थिए तर कारण थाहा थिएन । उनीसितको भेटमा हामी उनका कुरा सुन्ने गर्थ्यौं । उनलाई हौसला दिने गर्थ्यौं । अब त्यो क्रम बढ्यो ।

एक दिन उनले आफ्नो एक जना साथीसित भेट गराए । सबै खुसी भयौँ ।

कुरा गर्दागर्दै उनले भने, “पत्नीको मृत्युपछि मेरो कुरा सुनिदिने हजुरहरू मात्र हो यो संसारमा । मेरो छोराले मेरो कुरो सुन्दैन । पुराना कुरा मात्र गर्नुहुन्छ । मलाई अफिस जान बेर हुन्छ, भन्यो । बुहारीले बिस्तारै मैले नसुन्ने गरी काल पनि न आउने भनी । के गरूँ हजुर । काल नआई मर्न नसकिने । यहाँ, यो सरायमा बस्न त कोही बस्दैन । म नब्बे वर्षको भए तर मर्न त कसलाई पो मन लाग्छ र ? जति बाँचे पनि, जति बुढो भए पनि कायाको माया त भइहाल्दो रहेछ । त्यति मात्र कहाँ हो र, बुढो भए पछि त झन् धेरै मृत्यु भय पो हुँदो रहेछ ।चोला अब फेरि फर्किएर आउने होइन । यो धराको झन् धेरै माया पो लाग्दो रहेछ । मैले जे जानेको छु त्यही कुरा गर्छु । त्यो उनीहरूलाई उहिल्या कुरा खुइल्या हुन्छ । मलाइ पनि त कुरा गर्न मन लाग्छ । बुढी मरी । आफ्ना उमेरका नालानाता र साथी सबै मरे । कहाँ जाऊँ ? हिँड्न पनि त सक्दिन ।” भनेर बुढा रोए ।

हामी छक्क पर्यौं । केही भयभीत पनि भयौँ । किनभने कुनै दिन हामी पनि त यो अवस्थामा आउनेछौँ । उनीसित बिदा भएर फर्किंदै थियौँ । बाटोको रुखबाट पाकेको आँप खस्यो ।

मेरा पतिले मसित प्रश्न गर्नुभयो, “बोटबाट आँप खस्नु पनि त त्यसको मृत्यु हो । के त्यसलाई पनि मान्छेलाई जस्तै वृद्धावस्थाको पिडा र मृत्यु भय  हुन्छ होला ?”