`बधाई छ साथी।´ कार्यालयमा हाजिर गर्ने समयमा सुनिलले कमललाई भन्यो।

`मलाई के को बधाई ?´ कमलले आश्चर्य व्यक्त गर्यो।

`तिम्रो फुपाजु मन्त्री बन्ने भए त । के थाहा नपाएजस्तो गरेको ?´ सुनिलले भन्यो।

कमलले नेता फुपाजुसँग आफ्नो नाता भएको कुरा सकभर कतै बताउन चाहँदैनथ्यो । तैपनि कार्यालयमा रहँदा, बस्दा कतै न कतैबाट कसै न कसैले पत्ता लगाइहाल्थे ।

`उनले उनको पार्टीसँग विचार नमिल्नेलाई अर्को पार्टीको बिल्ला भिराइहाल्छन् र फरक दृष्टिकोणले व्यवहार गर्छन् । उनलाई नाता सम्बन्धको मतलब छैन । उनलाई आफ्नो पार्टीको कार्यकर्ता वा आफ्नो पार्टी सम्बद्ध सङ्गठनको मान्छेसँग मात्र चासो छ । त्यसैले उनीसँग नाम जोडिँदा पनि ग्लानि हुन्छ ।´ कमलले तितो पोख्यो।

`तैपनि आफ्नो मान्छे भनेको आफ्नै हो नि । कहिलेकाहीँ सरुवा, बढुवामा त काम लाग्न सक्छ । सम्बन्ध बनाइराख्नु पर्छ ।´ उनीहरुको कुरा सुनिरहेको प्रवेशले सल्लाह पस्कियो ।

`आफूलाई पर्दा वास्ता नगर्ने आफन्त मन्त्री बनून् कि जे सुकै बनून्, खाँचो परेन । कागलाई बेल पाक्यो हर्ष न विस्मात् ।´ भन्दै कमल आफ्नो कार्यकक्षतिर लाग्यो ।