महेश पहिलो पटक विदेशबाट फर्किएर आउँदा माइलीलाई सुनको फुली ल्याइदियो ।

भन्यो, “यो फुलीमा तिमी कस्ती देखिन्छ्यौ हेर्ने मन छ । लगाऊ ।”

“फुली मात्रै लगाएर के गर्नु, कान बुच्चै छन् ।” माइलीले भनी । लगाइन ।

दोस्रो पटक आउँदा कानका झुम्का ल्याइदियो र भन्यो, “फुली र झुम्कामा कस्ती देखिन्छ्यौ हेर्ने मन छ । लगाऊ ।”

“फुली र झुम्का मात्रै लगाएर के गर्नु । घाँटीमा केही छैन ।”

माइलीले गहना लगाइन । उसले फेरि भनी, “तिलहरी र सुनका चुरा पनि जोरेपछि लगाउँला ।”

तेस्रो पटक आउँदा तिलहरी र सुनका चुरा ल्याइदियो । भन्यो, “अब त हेर्न पाइन्छ होला गहनामा तिम्रो रूप । लगाऊ ।”

“गहना मात्रै भएर के गर्नु । नयाँ लुगा छैनन् । गहना अनुसारका महँगा लुगा ल्याएपछि मात्रै लगाउँला ।” माइलीले भनी ।

“अब आउँदा त्यो पनि पूरा गर्नेछु । तिम्रो नयाँ रूप हेर्नेछु ।”

महेशले प्रतिज्ञा गर्‍यो ।

चौथो पटक महेश आउँदा (ल्याइँदा ) माइलीको रूप हिउँजस्तै देखियो ।