लघुकथा : उच्च सम्मान

ध्रुवराज थापा ‘पुरूष’

“भाइ साहब हम आपके साथ एकफोटो ले सकते हैँ ?” शैक्षिक सम्मेलनमा सहभागी एक भारतीय शिक्षकले मलाई अनुरोध गरे ।

“अरे भाइ क्यो नहीँ, आइए न लिजीए !” भारतको  राजस्थान स्थित शान्तिवनमा आयोजित शैक्षिक सम्मेलनमा सहभागिता जनाउन पुगेको मैले सहजै स्वीकारोक्ति जनाएँ ।

उनले मसँग टाँसिएर फोटो खिचे । उनका समूहका साथीहरूले पनि मसँग उत्साहका साथ फोटो खिचाए । ग्रुप फोटो पनि प्रशस्तै खिचे । उनीहरू मसँग फोटो खिचाउन पाउँदा दङ्ग थिए । म पनि फुरुङ्ग परें ।

बिहानीको नास्ताको समयमा खाली समयको सदुपयोग गर्दै सम्मेलनमा सहभागी भारतीयहरूको अरू धेरै समूहले मेरो साथमा त्यस्तै सद्भाव प्रकट गरे । पर्याप्त फोटो खिचे । महिलाहरूले पनि त्यसै गरे । मिलाई मिलाई फोटो खिचाए ! देख्नेहरूलाई लाग्थ्यो होला म ठूलै सेलिब्रेटी हुँ !

भीडले उत्साहपूर्वक यो दृश्य नियालिरहेको थियो । म भने गर्वले दङ्ग थिएँ ।

मेरो महत्त्व बढेको देखेर फोटो सेसनको समयपछि सम्मेलनमा सहभागी हुन आएका अर्का एक नेपाली साथीले मलाई जिज्ञासा राख्नुभयो, “आज हाम्रा छिमेकी मित्रहरूले तपाईंको निकै सम्मान गरे ! खै हामीसँग त त्यस्तो गरेनन् !”

मैले उत्तर दिएँ, “उनीहरूले मलाई सम्मान गरेका हैनन्, न म कुनै चर्चित मान्छे हुँ, न त मैले उनीहरूलाई चिनेको छु !”

“त्यसो भए त्यत्रो सम्मान के को लागि थियो त ?” साथीले सोधे ।

मैले प्रतिउत्तर दिएँ, “मेरो शिरमा उच्च सगरमाथा समान ढाका टोपी सजिएको छ नि त !”