म एउटा सानो कोठाभित्र थुनिएको थिएँ । त्यो कोठा यस्तो थियो । उभिएपछि बस्न नमिल्ने । बसेपछि फेरि उभिन नमिल्ने । त्यस्तै सुतेपछि उठ्न नमिल्ने । उठेपछि फेरि सुत्न नमिल्ने । अत्यन्तै कष्टकर । मेरा वरिपरि फलामका स्वचालित रडहरूको बार थियो । जो आफू खुसी लाग्ने र उघ्रने गर्थ्यो । मैले कोल्टे फर्कन त के राम्रोसँग सास फेर्न समेत घण्टौँसम्म पर्खनु पर्थ्यो । कोठामा कतैबाट पनि हावा समेत छिर्ने ठाउँ थिएन । झ्यालको त कुरै छोडौँ । सानो भ्यान्टिलेशन समेत थिएन । म कसरी त्यहाँ आइपुगेँ ! कसले मलाई त्यहाँ ल्यायो । त्यो पनि मलाई केही थाहा भएन । सायद मलाई मार्नैका लागि कसैले त्यहाँ ल्याएको हुनुपर्छ । भूकम्पले भत्किएका घरले पुरिएको कङ्क्रिटको चेपमा चेपिए जस्तो सास फेर्ने हावा समेत नपाएर छट्पटाइरहेको अवस्थामा थिएँ म । आँसुले मेरो गला पूरै भिजेको थियो । जति गरे पनि बाहिर निस्कने मेरो हुति थिएन ।
त्यति मात्र होइन । त्यस्तो कोठाभित्र थुनेर बाहिरबाट मलाई आगो लगाइँदै थियो । मेरा हातखुट्टा जलेर मासुका डल्ला फ्यात्तफ्यात्त भुइँमा खस्दै थिए । म हातखुट्टा फाल्दै भुइँमा छट्पटाइरहेको थिएँ । बाहिर निस्कने कुनै बाटो थिएन । यस्तै पिडामाझ म आफूलाई जलाउँदै आफ्नो जीवनलीला समाप्त गर्दै थिएँ । त्यहाँ मलाई बाहिरबाट कसैले सुन्दैनथ्यो। भित्र म मात्र थिएँ । बरु मैले ढोकाको चेपबाट एउटा सानो बालक चिच्याई–चिच्याई रोइरहेको सुनेँ । ऊ ढोकाबाहिर उभिएर रुँदै चिच्याउँदै भन्दै थियो, “बाबा बाहिर आउनू न । बाबा यता आउनू न ।” त्यो आवाज अरू कसैको नभएर मेरो सानो छोराको थियो । ऊ ढोका खोल्न खोज्थ्यो तर सक्दैनथ्यो । ढोकामा बाहिरबाट ठूलो ताल्चा मारिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










