तिहारमा बहिनीको हातको टीका नलगाएको पनि  धेरै वर्ष भएको थियो । अनेकौँ व्यवधानहरूले गर्दा टिकाको साइत जुर्न सकेको थिएन ।

यो वर्षचाहिँ  तिहारमा टिका लगाउने साइत पक्कै जुर्ने छ भन्ने कुरामा म ढुक्क थिएँ ।

कोरोनाको महामारी बढ्दै गइरहेको थियो । दसैँको मुखमा बहिनी कोरोनाले थला परिछन् । घरभित्र नै क्वारेनटिन बसेर दसैँ यतिकै बितेछ।
पन्ध्र दिनको क्वारेनटिनपछि  रिपोर्ट नेगेटिभ आएको खबर पाएँ ।

कोरोनाले गालेको तन र मन बोकेर यसपालि दाइ  आउनुहुन्छ भनेर सकी नसकी बहिनी भाइटिकाको तयारीमा जुटिन र मलाई फोन गरिन्- ‘दाइ, जसरी पनि यसपालि टिका लगाउन आउनुपर्छ है । म तन्दुरुस्त भैसकेको छु ।”

मैले नि, प्रतिउत्तरमा हुन्छ म जसरी नि टिकाको साइत छोप्न आइपुग्छु भनेर वचनबद्ध भएँ । टिकाको दिन म बिहानै बाइक लिएर हुइँकिए । चार घण्टाको बाटो दस बजे बहिनीको घरमा टुप्लुक्क पुगेँ। बहिनी बरन्डामा बसेर झोक्राउँदै रहिछिन् ।
मुख मास्कले छोपिरहेकी थिइन् । म नजिकै कुर्सीमा गएर टुसुक्क बसेँ ।

भाइटिकाको सम्पूर्ण सरसामान मरमसला ठिक्क पारेर राखेकी रहिछन् । मैले सम्झेँ – कोरोनाले थला नै परिछन् । अझै मनभित्र डर –त्रास कायमै रहेछ ।

टिकाको साइत सुरु हुनै लागिसक्यो । बहिनी बसेको ठाउँबाट हलचल नै गर्दिनन् । मलाई अचम्म लाग्यो । म आफै अग्रसर हुँदै भनेँ– ल बहिनी, अब टिकाको लागि तयारी गरौँ । उसको आँखामा आँसु टिलपिलाइ रहेको देखेँ ।

‘होइन के भो तिमीलाई ? त्यति टाढादेखि टिकाको साइत छोप्नु  समयमै आइपुगेको छु । मलाई यो कोरोना सोरोनासँग फिटिक्कै डर लाग्दैन । नजिकै आएर टीका लगाइदिए हुन्छ । अप्ठ्यारो मान्नु पर्दैन ।’ मैले सान्त्वना दिँदै भने र म आफैँ जुरुक्क उठेर बहिनी नजिकै गएँ ।

बहिनी झन् परपर सर्छिन् ।

–होइन के नाटक गरेको तिमीले । म अलि कड्किएँ ।

– होइन दाइ, मलाई सब ठिक छ । नजिक न आउनुस् । म भर्खरै पर सरेर बसेकी,  एक घण्टा भो मिन्स भएको ।