विष्णुप्रसाद आचार्य “अतृप्त”

जिल्ला प्रशासन कार्यालयको आकस्मिक बैठक भर्खरै सकिएको थियो । सो बैठकले सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दियो । तदनुरूप सबै कार्यालयले प्रभावकारी सेवा प्रवाहका लागि आ-आफ्ना कार्यनीतिहरू प्रयोग गर्न थाले ।

सँगै कम्पाउन्ड जोडिएको वल्लो अमूक कार्यालयले कार्यालय परिसरमा “उजुरी पेटिका” झुण्ड्यायो । अर्को सरकारी कार्यालयले सोही समयमा “सुझाव पेटिका” राख्यो ।

तालुक कार्यालयबाट केही महिनापछि सेवाप्रवाहको अवस्थाका बारेमा अनुगमन सुरु भयो । अनुगमनमा खटिएका अधिकारीले सेवाग्राहीको प्रतिक्रिया प्राप्त गर्न दुवै कार्यालयका प्रमुखहरूको रोहबरमा दुवै पेटिकाको ताल्चा खोले ।

वल्लो कार्यालयको उजुरी पेटिकाबाट गुनासो, असन्तुष्टि र आक्रोशको चाङ निस्कियो । अर्को कार्यालयको सुझाव पेटिकाबाट सुधारका व्यावहारिक उपायहरू समेटिएका प्रशस्तै सुझावमूलक पत्रहरू फेला परे ।

अनुगमनकर्ताले दुवै कार्यालय प्रमुखलाई एकै ठाउँमा भेला गराए । उजुरी पेटिका राख्ने हाकिमको आँखा भुइँतिर जोतिएको र अनुहार रातोपिरो थियो । सुझाव पेटिका राख्ने कार्यालय प्रमुखको शिर उज्यालो थियो र आँखामा चमक थियो ।

सारमा दुवै कार्यालयका सेवाग्राहीको आशय भने एउटै थियो–“सेवाप्रवाह तोकिएको समय, लागत, परिमाण र गुणस्तर अनुरूप हुन नसकेको ।”

फरक यति थियो सेवाग्राहीहरूले वल्लो कार्यालयमा नकारात्मक कथनयुक्त र पल्लो कार्यालयमा सकारात्मक कथनयुक्त भाषाशैलीमा आ-आफ्नो भोगाइजन्य अनुभव प्रस्तुत गरेका थिए ।